नमुना सहकारीको साधारण सभा सम्पन्न
ढल्केवर । धनुषा जिल्लाको ढल्केवरमा अवस्थित नमुना बचत तथा ऋण सहकारी संस्थाको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष नारायण बास्तोलाको अध्यक्षतामा सञ्चालन भएको सभामा प्रमुख अतिथिको रूपमा मधेस प्रदेश सभाका सदस्य माननीय हरिनारायण महतो, विशिष्ट अतिथिको रूपमा मिथिला नगरपालिका प्रमुख महेन्द्र महतो , नेपाल प्रहरी विशेष सुरक्षा गण मदेस प्रदेशका प्रमुख नरेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो।
बि. स. २०७० सालमा स्थानीय केही युवाको सक्रियतामा खुलेको यस सहकारीमा १ हजार ९५ सदस्य छन् । संस्थाले हाल १३ करोड बराबरको आर्थिक कारोबार गरी रहेको छ।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि महतोले यस सहकारीले विपन्न परिवारलाई लक्षित गरी आर्थिक सम्वृद्धिमा जुन योगदान दिएको छ त्यो कार्य अत्यन्तै अनुकरणीय भएको बताए।
नमुना सहकारीको नमुना कामले नगरकै गरिमा बढाएको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले बताए।
कार्यक्रममा उपस्थित सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिने क्रममा अध्यक्ष नारायण बास्तोलाले संस्थाको आगामी कार्ययोजना समेत प्रस्तुत गरे। संस्थाले नाम जस्तै नमुना कार्य गर्ने बाचा गर्दै पछिल्लो समय अन्य केही सहकारी संचालकहरुको गलत प्रवृत्तिले गर्दा सहकारी संस्थाहरूमा थोरै तरलता आएको कुरा पनि स्वीकार गरे। आफ्ना सेयर सदस्यहरूलाई संस्थाप्रति पूर्ण विश्वस्त रहन आग्रह गर्दै बास्तोलाले यस संस्थाका सबै संचालकहरु स्थानीय भएकोले पनि संस्थाले विश्वासघात नगर्ने कुरा दोहो¥याए।
संस्थाका उपाध्यक्ष गणेश घिमिरेले संचालन गरेको उक्त सभामा संस्थाका सचिव निरप्रसाल शर्माले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए। कोषाध्यक्ष बद्रीविक्रम बानियाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा नगर भित्रका केही विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबैनीहरुले नृत्य प्रस्तुत गरी भरपुर मनोरञ्जन दिलाएका थिए। उक्त सभाको अन्त्यमा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई झोला सहितका अन्य शैक्षिक सामाग्रीहरू समेत वितरण गरिएको साथै उत्कृष्ट बचतकर्तालाई शनिवारकै साधारण सभामा सम्मान गरिएको कुरा सचिव निरप्रसाद शर्माले जानकारी गराए।