शैक्षिक गुणस्तर सुधारका लागि इकाईको पहल

रामेछाप । जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षा विकास तथा समन्वय इकाईले पहल थालेको छ । मन्थलीमा इकाईले माध्यमिक विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेर शैक्षिक गुणस्तर सुधारका लागी महत्त्वपूर्ण कदम चालेको हो ।
जिल्लाको शैक्षिकस्तर गुणस्तर अब्बल भए अरू जिल्लामा जानेबेला पनि गर्वका साथ जान सकिने रामेछाप जिल्ला समन्वय समितिकी प्रमुख चिना कार्कीले बताइन् । उनले भनिन् – शिक्षामा गुणस्तर भए सबै पक्ष गुणस्तरीय हुन्छ। तसर्थ शिक्षालाई गुणस्तरको उचाइमा पु¥याउन हामी सबैले मेहनत गर्न जरुरी छ ।
खाँडादेवी गाउँपालिकाले शैक्षिक गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । उनले भने – शिक्षा भनेकै विकासको पहिलो आधार हो । त्यसैले हामीले यो वर्ष गुणस्तरीय शिक्षालाई मध्यनजर राख्दै शैक्षिक वर्षको रूपमा कार्यक्रम बनाई काम गरिरहेकाछौँ ।
हामीले आफूले आफूलाई सुधार गर्न सके शैक्षिक गुणस्तरमा सुधार हुने उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । उनले भने – पहिले भन्दा शिक्षामा गुणस्तर नभएको होइन, भएको छ तर व्यवहारिक शिक्षा सहितको नागरिकले चाहे अनुरूपको शैक्षिक गुणस्तर बढाउन नसकिएको हो ।
शिक्षक पेसाको लामो अनुभव भएको बताउँदै मन्थली नगरपालिकाकी नगर उपप्रमुख ईश्वरी बस्नेतले शैक्षिक गुणस्तर सुधारका लागी मन्थली नगरपालिका जुनसुकै सहयोग गर्न तयार रहेको बताइन् ।
शिक्षकको पहुँच गाउँका कुनाकन्दरा सम्म हुने भएकोले नेताहरूले शिक्षकलाई चुनावको बेलामा प्रयोग गर्ने गरेको निजी विद्यालयका छाता संगठन प्याबसन रामेछापका अध्यक्ष केशव तिमल्सिनाले बताए । उनले भने – जब सम्म हामी नेताको स्वार्थका लागि परिचालित हुन्छौ तब सम्म शैक्षिक गुणस्तरमा सुधार ल्याउन सक्दैनौँ ।
उक्त कार्यक्रममा पत्रकार महासंघका रामेछापका अध्यक्ष बद्री नयाँघरे, नेपाल शिक्षक महासङ्घका अध्यक्ष शङ्कर प्रसाद ढुङ्गेल, नेपाल शिक्षक सङ्घकी उपाध्यक्ष लक्ष्मी बुढाथोकी कार्की, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष केशव श्रेष्ठ लगायतले समग्र जिल्लाको शैक्षिक गुणस्तर सुधारमा सबै लाग्नु पर्ने बताएका थिए ।
माध्यमिक विद्यालयका प्रधानाध्यापक अन्तरक्रिया कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईको अध्यक्षतामा भएको थियो ।