योग खेलकुद संघ रामेछापको अध्यक्षमा डा. भरत चयन

रामेछाप । नेपाल योग खेलकुद संघ जिल्ला कार्य समितिको अध्यक्षमा डा. भरतकुमार श्रेष्ठ चयन भएका छन् । सो कार्य समितिमा उपाध्यक्ष चन्द्रसिंह धामी, सीता श्रेष्ठ, सचिव केशव तिमल्सिना, सहसचिव पार्वती कडरिया, कोषाध्यक्ष शंकर थापा र सदस्यहरूमा जगन्नाथ दाहाल, अमृत थोकर, द्रोणप्रसाद घिमिरे, श्यामकुमार श्रेष्ठ, दीपककुमार कार्की, श्रीबहादुर माझी, भुमबहादुर बुढाथोकी, राम पाण्डे चयन भएका छन् । साथै भेलाले जगन्नाथ दाहाल र अमृत थोकरलाई बागमती प्रदेशका लागि प्रतिनिधि तोकेको छ ।
राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत गठित यस संघको योग खेल प्रति सर्वसाधारणको रुचि अभिवृद्धि गरी स्थानीय तहसम्म योग खेलकुदको तालिम दिई प्रशिक्षकहरू तयार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योग खेलको विकास गर्ने रहेको छ । रामेछाप जिल्लाका सबै स्थानीय तह तथा वडास्तरमा योग तथा खेलकुदमा रुचि भएकाहरूको सदस्यता विस्तार गरी कार्य समिति बनाइनेछ ।
नेपाल योग खेलकुद संघका केन्द्रीय अध्यक्ष प्रा.डा. सूर्यबहादुर कार्की, नेपाल योग खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष पर्शुराम आचार्य, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज घागा मगर, खेलकुद विकास प्रमुख विष्णुकुमार श्रेष्ठ लगायतको उपस्थितिमा समिति गठन गरिएको हो ।