बाम्तीमा सार्वजनिक सुनुवाइ सम्पन्न
रामेछाप । सुशासन, पारदर्शिता र जबाफदेहीताका लागि उमाकुण्ड गाउँपालिका वडा नं २ को वडा कार्यालयले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०७९। ८० को योजना तथा कार्यक्रमको समीक्षा गर्दै यस आर्थिक वर्ष २०८०।०८१ को योजना तथा कार्यक्रमको वडा नं २ ले आज वडा कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रममा सार्वजनिक गरेको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा गत वर्षका सम्पूर्ण योजनाको रकम, कार्य प्रगति, हुन नसकेको कामका कारण तथा वडाबाट खर्च भएको विवरण लगायतका विषयमामा कार्यक्रम सञ्चालक सूर्यबहादुर बस्नेतले उपस्थित सेवाग्राही तथा सरेकारवालाहरुलाई जानकारी गराएका थिए ।
गत आर्थिक वर्ष २०७९÷०८० मा पुर्वधारमा २५, सामाजिक विकास क्षेत्रमा ९, लक्षित समूह ८ र प्रधानमन्त्री रोजगारमा ८ सहित ५० वटा योजना तथा कार्यक्रमका विषयमा छलफल समेत गरिएको थियो । त्यस्तै आर्थिक वर्ष २०८०÷०८१ को पूर्वाधार तर्फ १७, प्रधानमन्त्री रोजगार तर्फ ७ सहित २४ वटा योजना तथा कार्यक्रम सार्वजनिक गरिएको थियो ।
यस वर्षमा वडाले नागरिकता तथा नागरिकताको प्रतिलिपि सिफारिस, जन्मदर्ता, मृत्युदर्ता, बसाइसराई दर्ता, विवाहदर्ता , सम्बन्ध विच्छेद दर्ता, अन्य सिफारिसहरू, लिखत प्रमाणित तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नाम नवीकरण गरिएको संख्या प्रतिवेदन मार्फत जानकारी गरिएको थियो ।
कार्यक्रममा वडाका निर्वाचित जन प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिहरू, कर्मचारी , शिक्षक, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारहरू लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।
वडा कार्यालयको सभाहलमा सम्पन्न भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही, नागरिक, टोल विकास संस्था, राजनीतिक दल, विभिन्न संघसंस्थाहरुका प्रमुख एवं प्रतिनिधिहरूले गुनासा तथा टिप्पणी र सुझावहरू राखेका थिए ।
नागरिकहरूबाट प्राप्त भएका गुनासाहरूको सम्बोधन प्रमुख जबाफदेही वक्ताको रूपमा वडाध्यक्ष खम्बाध्वज बस्नेत र त्यस्तै जबाफदेही वक्ताको रूपमा वडा सदस्य ङावा तेम्बा शेर्पा लगायतले गरेका थिए । वडा अध्यक्ष खम्बाध्वजा बस्नेतले सेवा प्रवाहमा कुनै समस्या भए आगामी दिनमा सच्चाएर जाने प्रतिबद्धता जनाएका थिए ।