जलविद्युत्को लापरबाहीले बगायो जलाउँदै गरेको शव
रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकामा पर्ने लिखु २ जलविद्युत् आयोजनाले अकस्मात् बाँध खोल्दा जलाउँदै गरेको शव बगाएको छ । आयोजनाले बिना सूचना एकै पटक बाँध खोल्दा शनिवार साँझ करिब ६ बजेतिर जलाउँदै गरेको शव बगाएको हो ।
सोही गाउँपालिका १ गुम्देल बाल्दिङमा पर्ने लिखु नदीमा बिहीबार आत्महत्या गरेर ज्यान गुमाएका बाल्दिङका ३२ वर्षीय झपट थापा (विदुर) को शव जलाउने क्रममा बगाएको स्थानीय राजेन्द्र बस्नेतले बताए । शव जलिरहँदा झण्डै २ सय मिटरमाथि पर्ने लिखु २ आयोजनाको बाँध खोलिएको थियो । बाँध खोल्दा आयोजनाले स्थानीयलाई जानकारी दिनुपर्नेमा उल्टै शव जलाइरहेको देख्दादेख्दै पनि बाँध खोलिदिएकोमा स्थानीयहरू आयोजनासँग रुष्ट बनेका छन् । बगाएको शव स्थानीयले नियन्त्रणमा लिएका छन् । आयोजनाको लापरबाही र हेपाहा प्रवृति भन्दै उक्त शव आयोजनालाई नै जिम्मा लगाउने स्थानीय बस्नेतले बताए । जलविद्युत् आयोजनाहरूले बाँध खोल्नु पर्दा सार्वजनिक सूचना जारी गरेरमात्र खोल्नु पर्ने प्रावधान छ ।
‘लास जलिसक्न अझै २ घण्टा लाग्ने अवस्था थियो, पानी बढेकोले लास बग्यो’ बस्नेतले भने- ‘पानी बढेकाले मलामीका केही सामानसमेत बगाएको छ।’ नदिमा एक्कासि पानीको बहाव बढ्दा मलामीहरूको भागदौड मच्चिएको थियो भने सबै जना सम्पर्कमा आउन केही समय लागेको थियो । शव जलाउन ५०/६० जनामलामीहरू नदिमा पुगेका थिए ।
आयोजनाको यस्ता लापरबाहीले गर्दा सो ठाउँमा ठुलै क्षति निम्त्याउन सक्ने सम्भावना रहेको स्थानीय सची कार्की बस्नेतले बताइन् । उनले भनिन्- ‘आज लास जलीरहेको बेला यो घटना घट्यो तर सजिब मानिसमा केही भएन धनजनको क्षति भयो बुझ्नु पर्नी कुरा यो हो कि यस्तै लापरबाहीले गर्दा सो ठाउँमा ठुलै क्षति निम्त्याउन सक्ने सम्भावना भने अब झन् बढी भयो । भोलि गएर त्यो खोल्सा जस्तो पनि नभएको ठाउँमा मानिसहरू बालुवा झिक्दै होलान्, कोही गिट्टी कुट्दै होलान्, कोही किन पुलमा पुग्नु यही बाट पारी जाउ भनेर बाटो काट्दै होलान्, अनि यस्तै लापरबाही हो भने भोलि कतिको ज्यान जाला?’ कार्कीले त्यसरी बिना जानकारी पानी छोड्दा अब हामी सर्वसाधारणले के बुझ्ने भन्दै आयोजनामाथि प्रश्न गरेकी छिन् ।
५५ मेघावाट क्षमताको लिखु २ जलविद्युत् आयोजना केही महिनाअघिदेखि व्यावसायिक उत्पादन दिन थालेको हो । उक्त आयोजनामा दुगड समूहको लगानी रहेको छ ।