ठेकेदारको लापरबाहीले पुल अलपत्र ,सम्झौता मिति सकिदा भौतिक प्रगति ३ प्रतिशत मात्रै

रामेछाप । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना अन्तर्गतको सेलेघाटको तामाकोसी पुल निर्माण कार्य अलपत्र परेको छ । निर्माण कम्पनीको लापरबाहीले पुल निर्माण अलपत्र परेको हो । निर्माण कम्पनीले केही काम सुरु गरेको जस्तो गरेको छ । केही सामान झारिएको पनि छ । तर महिनौँ देखि त्यहाँ कुनै काम भएको छैन ।
२०८० असार २६ गते काम सम्पन्न गर्ने गरी कालिका÷ प्यासिफिक जेभीले २०७७ असार २६ गते पुल निर्माणका लागी सम्झौता गरेको थियो । कम्पनीले १४ करोड २७ लाखमा सम्झौता गरेको तामाकोशी पुल निर्माण कार्यको प्रगति भने शून्य छ भन्दा कुनै फरक पर्दैन । शून्य प्रगतिमा पुल निर्माण छाडेर सम्झौता अनुसारको समय सीमा सकिँदा समेत आयोजना कार्यालय मौन छ ।
निर्माण कम्पनीले आयोजना सँग काम नै नगरी पेस्की रकम समेत लगी सकेको छ । कम्पनीले आयोजनाबाट एकहत्तर लाख पैत्तिस हजार पेस्की लगी सकेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय,रामेछापका सूचना अधिकारी ईइन्जिनियर हर्क बहादुर प्रधानले बताए । उनले भने – उक्त पुल निर्माणको वित्तीय प्रगति शून्य छ । भौतिक प्रगति भने ३ प्रतिशत छ । निर्माण कम्पनीले पेस्की रकम लगे पनि हामीले पेस्की जफतको चिठ्ठी पठाई सकेका छौँ ।
निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माणमा ढिलाइ भएको प्रधान समेत स्विकार्छन् । उनी भन्छन् – हामीले पटक पटक पत्र पठाएका छौँ । उहाँहरूले म्याद थप गर्न पत्र समेत दिनु भएको छ । तर पनि उहाँहरूले काम सुरु गर्नु भएको छैन । अब हामीसँग उहाँको ठेक्का अन्त्य गर्नुको विकल्प छैन ।
निर्माण व्यवसायी ठाकुर कँडेल भने सम्पर्क विहीन छन् । उनलाई जति पटक फोन म्यासेज गरे पनि कुनै फरक पर्दैन । उनी न ’कलब्याक’ गर्छन्, न म्यासेजको कुनै जवाफ दिन्छन् । उनको यो रवैया देख्दा लाग्छ उनी कानुन भन्दा माथि छन्, उनलाई कसैले केही गर्न सक्दैन ।
काम जिम्मा लिएर अलपत्र पार्ने ठेकेदारलाई यसरी छाडा छाड्दिनालेनै कैयौँ स्थानमा योजनाहरू अलपत्र भएका हुन् । यो त झन् राजमार्ग ! सबैको ध्यान पुग्ने राजमार्गको काममा यती लापरबाही गर्न सक्ने निर्माण व्यवसायीले दुरदराजमा लिएको कामको प्रगति कस्तो होला त ?



