नगर अस्पतालले मनायो वार्षिकोत्सव

रामेछाप । मन्थली अस्पताललाई जिल्लाको मुख्य र आकर्षक अस्पतालका रूपमा विकास गर्न सबैको सहयोग आवश्यक पर्ने संघीय सांसद पूर्णबहादुर तामाङले बताए। उनले भने – संघ र प्रदेश सरकारको समेत सहयोग जुटाउन सकिएन भने मन्थली अस्पताललाई नगर पालिकाले मात्र धान्न सक्ने अवस्था हुँदैन । अस्पतालमा बढ्दो बिरामीको चापलाई व्यवस्थापन गर्नका लागि आवश्यक उपकरण र जनशक्ति चाहिने हुँदा यसको स्तरबृद्धिका सबैले सहयोग गर्नुपर्छ ।
मन्थली अस्पतालले गुणस्तरीय सेवाको प्रशंसा गर्दै थप विकासका लागि आफूले कुनै पनि कसुर नराख्ने बागमती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले बताए।
स्वास्थ्यको अधिकार मौलिक अधिकार भित्र पर्ने भएकोले नागरिकको स्वास्थ्य सम्बन्धी अधिकार सुरक्षित गर्नका लागि सबै पक्षलाई जिम्मेवार भएर लाग्न बागमती प्रदेशका अर्का सांसद युवराज चौलागाईँले आग्रह गरे।
सत्तापक्षको बेवास्ताका कारण मन्थली अस्पतालको स्तरोन्नतिमा समस्या देखिएको बागमती प्रदेशसभाका अर्का सांसद आनन्द श्रेष्ठले बताए ।
नगरपालिकाले मात्रै अस्पताल सञ्चालन गर्न समस्या भएको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बताए । अस्पताल भवन निर्माणको क्रममा अहिले पनि समस्या भएको भन्दै यसका लागि सहयोग सहित खबरदारी गरिदिन पनि श्रेष्ठले आग्रह गरे।
चुनौतीहरूका बाबजुद मन्थली अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवाहरू प्रवाह गर्न सफल भएको मन्थली अस्पतालका प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट डा. समीर क्षेत्रीले बताए ।
मन्थली नगर अस्पतालले आफ्नो तेस्रो वार्षिक उत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । अस्पतालले शनिवार बिहान रणजोर खोला पुलबाट आकाशे पुलसम्म खुला म्याराथन प्रतियोगिता गरेको थियो ।



