संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनापति प्रथम

रामेछाप । जिल्लाका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनापति गाउँपालिका प्रथम भएको छ । केही दिन अघी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार सुनापती गाउँपालिका ७७.५ अङ्क सहित प्रथम भएको हो ।
कार्यपालिका तथा कर्मचारीको भरपुर साथका कारण स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनापति प्रथम भएको पालिका अध्यक्ष ठुलो कान्छा तामाङ बताउँछन् । उनी भन्छन् – यो हाम्रो लागी चुनौतीको विषय हो । अब हामीले सधैँ प्रथम कसरी हुने भन्ने सोचका साथ काम गर्नेछौँ । हामी जिल्ला सँगै प्रदेश हुँदै देश भरी अब्बल हुने गरी काम गर्ने कोसिसमा छौँ ।
केही सूचकहरूमा सुनापती पछाडि भएका कारणले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकेका सबै सूचकमा अब्बल बनाउने प्रयास सुनापतिले गरिरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले बताए । उनले भने – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन सूचकमा अब्बल बन्ने मात्रै होइन हामी आन्तरिक आय बढाएर पालिकाको समग्र विकासको पहल र प्रक्रियामा छौँ ।
जिल्लामा भएका आठ वटै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सहभागी भएकोमा सुनापति गाउँपालिका प्रथम भएको हो । लिजामा मन्थली नगरपालिका ७७ दशमलव २५ अङ्क सहित दोस्रो भएको छ। संस्थागत क्षमता स्वमूल्याङ्कनमा क्रमशः रामेछाप नगरपालिकाले ७४ अङ्क, उमाकुण्ड गाउँपालिकाले ७२ दशमलव ७५, गोकुलगंगा गाउँपालिकाले ६५ दशमलव ५, दोरम्बा शैलुङ गाउँपालिकाले ६४ दशमलव २५, खाँडादेवी गाउँपालिकाले ६२ र लिखु तामाकोशी गाउँपालिकाले ४८ दशमलव ५ अङ्क प्राप्त गरेका छन् ।
लिजामा विभिन्न दश वटा शीर्षकमा मूल्याङ्कन गर्ने गरिन्छ । जसमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्याङ्कन गर्ने गर्छन् ।
स्थानीय तहको संस्थागत स्वमूल्याङ्कन एउटा औजार हो । यसले स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरूको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमीकमजोरीहरूको जानकारी लिन, आवधिक समीक्षाको आधार प्राप्त गर्न, प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन सहयोग गर्छ । स्थानीय तहले गरेका राम्रा अभ्यास, सिकाई र उपलब्धिहरूलाई उजागर गर्दै सुशासन प्रवर्द्धन गर्न सुधारात्मक पक्ष तथा चुनौतीको पहिचान गर्नु तथा नीतिगत कार्ययोजना तयार गरी कार्यान्वयन गर्नु नै स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन को मुख्य उद्देश्य हुन् ।



