युवराज श्रेष्ठ सहित ६ पत्रकार पुरस्कृत

रामेछाप । रामेछापका पत्रकार युवराज श्रेष्ठ पुरस्कृत भएका छन् । शनिबार १२ औँ साधारण सभाको अवसरमा नेवास् पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष समेत रहेका झंकार एफएम ९७।५ मेगाहर्जका स्टेसन म्यानेजर श्रेष्ठ सहित ६ जना पत्रकारलाई नगद र प्रमाण पत्र सहित पुरस्कृत गरेको हो । श्रेष्ठलाई नगद २० हजार सहित ज्ञानदेवी– मणि पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार बाट सम्मान गरेको हो ।
ज्ञानदेवी– मणि पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार ललितपुर जिल्लामा पहिलो अपाङ्गमैत्री भवन बनाउने कार्यको अग्रसरता लिएका समाजसेवी मोती शान्ति शाक्यले आफ्नी आमा र बाबुको नाउँमा स्थापना गरेको हो ।
त्यस्तै गरी वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार उज्यालो रेडियो नेटवर्क तथा नेपाल मण्डल टेलिभिजनमा क्रियाशील वरिष्ठ सञ्चारकर्मी सिल्भिया राजोपाध्यायलाई प्रदान गरिएको छ । सो पुरस्कारको नगद राशि १० हजार रुपैयाँ रहेको छ ।
त्यसै गरी नेपालका पहिलो त्रिपिटकाचार्य एवं २००१ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले निकाला गरेका आठ भिक्षुमध्ये एक भिक्षु कुमार काश्यप महा स्थविरको नाउँमा भिक्षु कौण्डन्यले स्थापना गरेको भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार पत्रकार मेट्रो एफएममा क्रियाशील उदेन मानन्धरलाई प्रदान गरिएको छ । यस पुरस्कारको नगद राशि २० हजार रुपैयाँ रहेको छ ।
देव शोभा कंसकारद्वारा स्थापित अग्रधम्मान् दाता ज्ञान ज्योति–लक्ष्मी प्रभा स्मृति पत्रकारिता पुरस्कार माउन्टेन टेलिभिजनका नेपाल भाषा समाचार डेस्कका प्रमुख विश्वन्तर शाक्यलाई प्रदान गरिएको थियो । यो पत्रकारिता पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । त्यसै गरी ललितपुरका समाजसेवी एवं व्यवसायी बाबुराज ज्यापू फोटो पत्रकारिता पुरस्कार काठमाडौँका फोटो पत्रकार बुद्ध शरण शाहीलाई प्रदान गरिएको छ । यस पुरस्कारको नगर राशि १० हजार रुपैयाँ रहेको छ । विजयराम कर्माचार्यद्वारा स्थापित श्रीराम स्मृति पत्रकारिता पुरस्कार भक्तपुरका पत्रकार रेणु त्वानावासुलाई प्रदान गरिएको छ ।
पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष समेत रहेका पुरस्कार छनौट समितिका संयोजक सुनिल महर्जनले पत्रकारिता क्रियाशील, नेपाल भाषा, संस्कृति, सम्पदा, सञ्चारमाध्यमको समावेशीकरण र मातृभाषाको पत्रकारिताको विकास, आदिवासी जनजातिको सवालमा पत्रकारिता मार्फत पु¥याएको योगदान, लैङ्गिक,भौगोलिक र लगायत पक्षलाई आधारका रूपमा पुरस्कारका लागि ती पत्रकारहरूको नामावली सिफारिस गरेको जानकारी दिए ।
साथै तीन जना पत्रकारलाई विशेष सम्मान गरिएको छ । सञ्चारमाध्यमको समावेशीकरण र नेपाल भाषा र संस्कृति प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने वरिष्ठ पत्रकार दण्ड गुरुङ, गोरखापत्रका सल्लाहकार सम्पादक उपेश महर्जन र गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यलाई विशेष सम्मान गरिएको छ । उनीहरू सबैलाई बागमती प्रदेशका उद्योग मन्त्री रामकृष्ण चित्रकारले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button