हायु जातिको दसैँ सकियो

रामेछाप । लोपोन्मुख जाति हायुले महाकाली देवीको पूजालाई महान् पर्वको रूपमा लिने गर्छन् । महाकाली देवीको पूजालाई हायु जातीले आफ्नो दसैँको रूपमा समेत लिने गर्छन् । हायुहरूको सबभन्दा ठुलो र शक्तिशाली देवी ईश्वरीय आस्थाका केन्द्र उप्क्षिमी रानी हो । जुन देवीको थान रामेछाप नगरपालिका वडा नं. ७ मुडाजोरको पालीगाउँमा छ । यो देवीको थान विशाल रुख काभ्राको फेदमा छ । जसलाई अरू समुदायले महाकाली देवी भनी नामकरण गरेका छन् ।
हायुको महान् पर्व महाकाली देवीको पूजा बुधबार देखी रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मुडाजोरमा विधिवत रुपमा सम्पन्न भएको छ । वषौँदेखी नेपालको लोपोन्मुख जाति हायुहरूले मनाउने महाकाली देवीको पूजा हरेक वर्ष मुडाजोरमा रहेको उप्छिमी रानी अर्थात् महाकाली देवीको थानमा विशेष पूजाआजा सहित मनाउने गरिन्छ ।
महाकाली देवीको थानमा हरेक वर्ष मेला लाग्ने स्थानीय सुजन हायु बताउँछन् । उनी भन्छन् – यहाँ १ हप्तासम्म बाजागाजा सहित लाग्ने मेलामा हायुजातिका पुरुषहरू पुजारी हुन्छन् । विभिन्न भाकल तथा दर्शनका लागी यस मेलामा रामेछाप सहित सिन्धुलीका हायु जातिका मानिसहरू र अन्य जातजातिका मानिसहरू पनि दर्शन गर्न आउने गर्छन् । यो पूजा हायु जातीका लागी विशेष मानिन्छ । अझ भनौँ यो पूजा हायु जातीको दसैँ हो ।
विशेषतः हायु जातीले महाकाली पूजालाई आफ्नो मुख्य चाडको रूपमा मनाउँदै आएको भए पनि अन्य जातीले समेत महत्त्व दिएको स्थानीय राशि कार्की बताउँछिन् । उनी भन्छिन् – महाकाली पूजा हायु जाती विशेषको पूजा भनिए पनि यहाँ अन्य जातजातिहरू पनि आउने गर्छन् । यहाँ पूजा गर्नाले मनोकाङ्क्षा पुरा हुने जन–विश्वास छ ।
रामेछाप नगरपालिका वडा नं. ७ मा रहेको यो महाकाली मन्दिरमा देश भरिबाट पूजा आराधनाका लागी हायु जाती आउने गरेको हायु एकता समाजका अध्यक्ष लक्ष्मण हायु बताउँछन् । उनका अनुसार हायु जातीले यो स्थानलाई आस्थाको धरोहरका रूपमा लिने गरेका छन् ।
स्थानीय सरकारले पनि महाकाली देवीको थान संरक्षण गर्न काम गरेको रामेछाप नगरपालिका नगर प्रमुख लवश्री न्यौपाने बताउँछन् । नेपालमै सबै भन्दा धेरै हायु जातिको बसोबास रहेको वडा नं ७ मा हायु जातिको संस्कृति संरक्षणमा नगरपालिका खटिरहेको उनको भनाई छ । महाकाली देवीको थान संरक्षण गर्न कम्पाउन्ड वाल लगाउने काम भई सकेको न्यौपाने बताउँछन् । बाजागाजा र जातीय भेषभुषा राख्नको लागी हायु जातिको संग्राहलय निर्माण गर्ने योजना पनि अघि बढाइएको र नगरपालिकाले गुरु योजना बनाउँदा महाकाली देवीको थानलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा समेटिएको उनले भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button