मनाइयो लदिपुजा

रामेछाप । माझी समुदायको विशेष पर्व लदिपुजा धूमधामकासाथ यसपालि पनि मनाइएको छ । प्रत्येक वर्षको फागुन महिनाको साइँली मङ्गलबार मनाउने लदी (कोसी) पूजाको पहिलो दिन मङ्गलबार जिल्लाको विभिन्न स्थानमा बसोबास रहेको माझी समुदायले मनाएका छन् । रामेछापको मन्थली नगरपालिका वडा नं ८ गाइखुराका माझीसमुदायहरुले तामाकोशीको किनारमा छिनारी (मसान), मंगलादेवी र जलदेवीकानाममा पाठी, कुखुरा लगायतका वली चढाएर पूजा मनाएका छन् ।
यसपालिबाट रामेछापको सुनापति गाउँपालिका वडा नं. १ गुन्सिका माझी समुदायले पनि सभ्य र भव्य तरिकाले पाठी, परेवा, भाले, कुखुरा र अण्डा तयार गरी पूजाको मण्डप बनाई लदिपुजा मनाएको बालकृष्ण माझीले बताए ।
माझी समुदायहरूले परम्परागत रूपमा चलिआएको यस पर्वलाई निकै महत्वका साथ मनाइरहेका छन् । लदिपुजा गर्नाले माझी समुदायको मुख्य पेसाको रूपमा परिचित पुर्ख्यौली पेसा नदीमा डुङ्गा (नाउ) चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने उनीहरूको विश्वास छ । साथै, नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यता समेत रहेको छ । वर्षातको समयमा नदीले वर्षौनी विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पु¥याइरहेको छ । तसर्थ ती क्षतिबाट यस पूजाले बचाउने विश्वासका साथ लदिपुजा गरिँदै आएको समेत बालकृष्ण माझीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button