केवलेश्वर मन्दिरको प्राण प्रतिष्ठा
रामेछाप । मन्थली नगरपालिका वडा नं.–१, मच्छेडाँडीमा केवलेश्वर महादेव मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ । स्थानीय हरुको सक्रियता सँगै विभिन्न भक्तजनहरू र स्थानीय सरकार समेतको सहयोगमा निर्माण गरिएको केवलेश्वर महादेव मन्दिरको महाशिवरात्रिका अवसरमा शुक्रवार प्राण प्रतिष्ठा गरिएको हो । राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीले उक्त मन्दिरको प्राण प्रतिष्ठा गरेका हुन्।
हिन्दु धर्मको रक्षाका लागि नव निर्मित केवलेश्वर महादेवको मन्दिर वरदान साबित हुने राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष सुवेदीले बताए । उनले भने – मन्दिरको नित्य पूजा गर्नका लागि छुट्टै अक्षय कोष खडा गर्नु पर्छ । त्यसका लागि म पनि सहयोग गर्छु ।
मन्दिर निर्माणका लागि विभिन्न श्रद्धालु भक्तजनहरू बाट प्राप्त आर्थिक सहयोगका साथै मन्थली नगरपालिका वडा नं १ बाट ३ लाख, अम्बोटेचौर पुर्वाधार विकास आयोजना बाट ५० हजार, केवलेश्वर मच्छेडाँडी तरकारी उत्पादन समूहबाट १२ हजार ६ सय ५५, मच्छेडाँडी पानी टयाँकि खजुरे उपभोक्ता समितिको ५ हजार ३ सय ५५ तथा मच्छेडाँडी आमा समूहबाट ५ हजार ५ रुपैयाँ, नगद सहयोग प्राप्त भएको मन्दिर निर्माण समितिले जनाएको छ ।
उक्त मन्दिरका लागि आवश्यक जग्गा स्वर्गीय पिता देवी बहादुर र माता भक्त कुमारीको स्मृतिमा उनका छोराहरू कृष्ण बन्दु र श्याम केसि तथा स्वर्गीय हजुरबुवा शिव शंकर स्वर्गीय हजुरआमा अम्बिका देवी,र स्वर्गीय बुबा यादव कृष्ण सुवेदी समेतको स्मृतिमा उनका छोरा मेघराज सुवेदीबाट प्राप्त भएको र सोही जग्गामा मन्दिर निर्माण गरिएको उक्त मन्दिर निर्माण समितिका अध्यक्ष गोविन्द प्रसाद सुवेदीले दिए ।
प्राण प्रतिष्ठा कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष होम प्रसाद पौडेल, ज्येष्ठ नागरिक र स्थानीय श्रद्धालुजनहरुको उल्लेखनीय रहेको थियो ।