दूषित पानी बजारमा, बेखबर मन्थली नगरपालिका

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं. १ आकाशेमा रहेको शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिले दूषित पानी बजारमा बिक्री बितरण गरिरहेको छ तर यस विषयमा मन्थली नगरपालिका बेखबर छ । विगत ८ वर्षदेखि अक्वा शैलुङ पानीको नाममा बजारमा बिक्री बितरण गर्दै आएको शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिको बारेमा आफूलाई कुनै जानकारी नभएको मन्थली नगरपालिका उपप्रमुख तथा मन्थली नगर बजार अनुगमन समितिका संयोजक इश्वरी बस्नेतले बताएकी छन् ।
‘अक्वा शैलुङ प्रशोधित पिउने पानी’ को नाममा शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिले गुणस्तरहिन पानी प्याकिङ्ग गरेर बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिले गुणस्तरहिन पानी बजारमा बिक्री बितरण गर्दै आएको कुरा जिल्ला स्तरका सामाजिक फोरमहरुमा समेत उठ्ने गरेको छ । तर यो विषयमा मन्थली नगरपालिका अनविज्ञ हुनु आश्चर्यजनक मात्र होइन, लज्जाको विषय बनेको छ । अक्वा शैलुङ प्रशोधित पिउने पानीको नाममा भएको बद्मासिको नाममा पटक–पटक आवाज उठेपनि मन्थली नगरपालिका कान थुनेर बसेको छ । यो विषयमा आफूलाई कुनै जानकारी नै नभएको भन्ने उपप्रमुख वस्नेतको भनाइले शैलुङ पानी र मन्थली नगरपालिकाबिच के खिचडी पाकिरहेको छ भन्ने सवाल जनस्तरबाट उठ्न थालेको छ ।
‘अक्वा शैलुङ प्रशोधित पिउने पानी’ गुणस्तरहिन भएको मिडियामा आउँदा समेत मन्थली नगरपालिका बेखबर हुनुलाई सरोकारवालाले अर्थपूर्ण रुपमा लिएका छन् । बजारमा गुणस्तरहिन पानी बिक्री वितरण भइरहेको कुरा मिडिया मार्फत बजारमा छताछुल्ल छ तर मन्थली बजारमा अनुगमन गर्न उत्पादक कम्पनीमा पुग्नु त परैको कुरा यस्ता कुरा सुन्न समेत चाहँदैन । नागरिकको प्रत्यक्ष स्वास्थ्यसँग जोडिने पानीको विषयमा मन्थली नगरपालिका मौन रहनु र अञ्जान भएको बाहनाबाजी गर्नुले नगरपालिका नागरिकको हितमा छैन भन्ने कुरालाई पुष्टि गर्ने नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे बताउँछन् । उनी भन्छन् – पानी भनेको मानिसले धेरै भन्दा धेरै उपयोग गर्ने चिज हो । पिउने पानीमा समेत बद्मासी हुनु भनेको नागरिकको स्वास्थ्यको बारेमा कुनै मतलब नगर्नुमात्र होइन यो सामाजिक अपराध हो । यो विषयमा मन्थली नगरपालिका लगायत सम्बन्धित सरोकारवाला निकाय मौन बस्न हुन्न ।
यता घरेलु तथा साना उद्योग कार्यालय रामेछापले भने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीमा यस विषय जानकारी गराइसकेको जानकारी दिएको छ । समाचार आउन बित्तिकै ‘अक्वा शैलुङ प्रशोधित पिउने पानी’को अनुगमनका लागि पुगेका थियाँै । शैलुङ पानीको बारेमा समाचारमा आएको कुरा सतप्रतिशत सत्य रहेछ । घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख सुवोधकुमार साह कर्मयोगीले भने ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख पुष्पलाल राइले शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिले यसअघि पनि गुणस्तरहीन पानी बिक्री बितरण गर्दा मुद्दा परेपछि सञ्चालक रामबाबु गिरीले कारबाही भोगिरहेको पनि बताएका छन् । कारबाही गरेपछि उनले पानीमा केही सुधार गरेपनि अझै पूर्णरुपमा सुधार भने नगरेको राइले बताए । उनले थपे – घरेलु तथा साना उद्योग कार्यालय रामेछापले पुनः आवश्यक कारबाहीको लागि जानकारी गराएको छ । हामी यो विषय माथिल्लो निकायमा पठाउने छौँ ।
पानी सजीव जीवन आधारका लागि महत्वपूर्ण कुरा हो । तर, यही पानीमा बेइमानी र मनोमानीले गर्दा बेला–बेलामा समस्या निम्तिने गर्दछ । विशेषगरी खानेपानीको गुणस्तरको विषय सधैँजसो बहसमा आइरहन्छ । मिनरल वाटरका नाममा दूषित पानी बिक्री भइरहँदा समेत मन्थली नगरपालिका किन मौन छन् भन्ने सवाल उठेको छ । जनस्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिने यस्ता संवेदनशील विषय बेलाबेला समाचारका मसाला मात्र हुने तर सरोकारवाला निकायबाट आवश्यक सुधार नहुने परिपाटीले ठुलै समस्या आइरहेको छ र आउने छ । नागरिकको स्वास्थ्यसँग मनोमानी खेल्नेलाई कानुनी दायरामा ल्याउन किन हिचकिचाइ रहेको छ सरोकारवाला निकाय ? यो आम प्रश्न बनेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button