अपाङ्ग महासंघको अभिमुखीकरण

रामेछाप । हिंसा प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापना सम्बन्धी अभिमुखीकरण कार्यक्रम आइतबार सुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशको आयोजनामा सुरु भएको सो कार्यक्रम संचालनका लागी सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश, रामेछाप नगरपालिका र मन्थली नगरपालिकाले सहयोग गरेको हो ।
आइतबार र सोमबार संचालन हुने सो कार्यक्रममा बाग्मती प्रदेशका ७ जिल्लाका सेफहाउस संचालक तथा व्यवस्थापक लगायतका ४० जनाको सहभागिता रहेको थियो।
अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारको बारेमा सामाजिक विकास मन्त्रालयका उप सचिव गोपाल कँडेलले बताए । उनले भने – हामीले यस्ता कार्यक्रम पहिलो पटक गरेका हौँ । आगामी दिनमा अब यस्ता खालको कार्यक्रमलाई प्राथमिकतामा राख्नेछौँ ।
मन्थली नगरपालिकाका नगर प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि लव श्रेष्ठले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह सबैले अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष नजरले हेरेर नीति तथा कार्यक्रम बनाउनु पर्ने बताए ।
अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागी संघ र प्रदेशले बनाएको कार्यविधिका कारण स्थानीय तहले भने जस्तो काम गर्न नसकेको रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले बताए । न्यौपानेले भने – राष्ट्रिय अपाङ्ग महासंघले बनाएको कार्यविधि सरकारले अगाडी बढाए मात्रै अपाङ्गता भएका व्यक्तिले चाहेको जस्तो काम हुन्छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका उपाध्यक्ष शान्ता कार्की, मन्थली नगरपालिकाका उप प्रमुख ईश्वरी बस्नेत, रामेछाप नगरपालिकाका उप प्रमुख बाल कार्की, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतले भनाई राखेका थिए ।
जिल्ला र पलिकास्तरमा रहेका सेफ हाउसहरूको संचालन विधि तथा नीतिको बारेमा जानकारी गराउनु त्यस तर्फ स्थानीय र सरोकारवालाहरूलाई जिम्मेवार बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले बताएको छ ।



