आम्दानीको मेसो देखेर दंग गंगामाया

रामेछाप । गंगामायाको अनुहारमा आज बेग्लै खुसी देखिएको थियो । हातमा नेपाली कागज र प्लास्टिकको पोको बोकेर बसेकी गंगामाया बाटेको धूप बनाउने तालिम लिएर निस्केकी रहिछिन् । शारीरिक रूपमा अपाङ्ग गंगामाया बस्नेतलाई यो तालिमले छुट्टै ऊर्जा थपिदिएछ । बाटेको धूप बनाउने तालिम लिएपछि आम्दानीको मेसो मिलेकोले खुसी भएकी बताइन् उनले ।
गंगामाया जस्तै सरस्वती मगर, खुम कुमारी मगर, सम्झना साही, सरोज घिमिरे, अम्बिका खड्की, सावित्री कसाई लगायतका व्यक्तिहरू पनि आज खुसी देखिएका थिए । अपाङ्गता भएका व्यक्तिहरू आर्थीकोपार्जनमा कमै मात्र लागेको भेटिन्छ ।आफूले काम गर्ने र आम्दानीको जोहो नहुने कारणले घरपरिवारमा समेत अपहेलित हुनु पर्ने वातावरण अबका दिनमा कमी हुने आत्मविश्वास बढेको कारणले अनुहारमा खुसी छाएको सम्झना शाहीले बताइन् ।
गंगामाया र सम्झना जस्ता ३० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूको अनुहारमा खुसीयाली देखिएको थियो । खुसीयालीको कारण ठुलो थिएन, तर अपाङ्गता भएकाहरू साना साना कुरामा खुसी हुन सक्ने रहेछन् । अपाङ्गता भएकाहरूको अनुहारमा खुसी भर्ने कोसिस अपाङ्ग सचेतन केन्द्र रामेछापले गरेको थियो ।
अपाङ्ग सचेतन केन्द्र रामेछापले दिएको ५ दिने बाटेको धूप बनाउने तालिमले रामेछाप नगरपालिकाका अपाङ्गता भएकाहरूलाई जिउने मेसो देखाई दिएको छ । दिन कटाउने सँगै कमाउने मेसो समेत मिलाइदिएको छ । यो मेसो मिलाउन सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशले आर्थिक सहयोग गरेको थियो ।
अपाङ्गता भएकाहरूको दैनिक जीवनयापनमा टेवा पुगोस् भन्ने उद्देश्यले बाटेको धूप बनाउने तालिम दिइएको अपाङ्ग सचेतन केन्द्रका अध्यक्ष बद्रीप्रसाद घिमिरेले बताए । उनले भने – हामीले माछा मार्न सिकाउने कोसिस गरेका हौँ, माछा खान सिकाउने प्रवृत्तिले अहिले खाए भरे के खाऊँ भन्ने अवस्था आएको हो । हामीले माछा मार्न सिकाउन सक्यौँ सकेनौ यो चाहिँ तालिममा सहभागीहरूको क्रियाशीलताबाट थाहा हुनेछ । तर तालिममा सहभागीहरूको अनुहारमा देखिएको खुसी र उत्साहले सफलताको पहिलो खुट्किला पार गरेको महसुस गरेका छौँ ।
तालिमलाई प्रत्यक्षरुपमा अवलोकन गरिरहेकी रामेछाप नगरपालिकाकी उप–प्रमुख बालकुमारी कार्की पनि तालिम फलदायी भएको बताउँछिन् । घरमै बसीबसी बाटेको धूप बनाउन सकिने हुनाले अपाङ्गता भएकाहरूले यो कामलाई निरन्तरता दिन सके आर्थिक जोहोका लागी सहज हुने उनले बताइन् । कार्कीले यस्तो खालको तालिमलाई निरन्तरता दिने बाचा गर्दै अपाङ्गता भएकाहरूले उत्पादन गरेको बाटेको धुपको बजारीकरणका लागी बिहिबारे हाटमा निःशुल्क स्टल राखिदिने पनि बताइन। उनले भनिन– तपाईँहरूले जति उत्पादन गर्न सक्नु हुन्छ गर्नुस् । बजारको चिन्ता नलिनुस् । तपाईँहरूले उत्पादन गरेको सबै बाटेको धूप रामेछाप नगरपालिकाले बजार व्यवस्थापन गर्छ ।
तालिमको अनुगमनका लागी आइपुगेका सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका उपसचिव गोपाल प्रसाद कँडेलले मन्त्रालयले सही ठाउँमा लगानी गरेको बताए । उनले भने – हामीले रामेछापमा अपाङ्गता भएका व्यक्तिहरूका लागी बजेट छुट्टाएको संभवत पहिलो पटक हो । पहिलो पटकको कार्यक्रम नै प्रभावकारी देखियो । आगामी दिनमा रामेछापमा यस्तै प्रभावकारी कामका लागी बजेट छुट्टाउन मन्त्रालय तयार रहनेछ ।
अपाङ्ग सचेतन केन्द्रले तालिममा सहभागीलाई बिदा गर्दै गर्दा खाली हात पठाएन । आयोजक संस्थाले तालिममा सहभागीहरूका लागी बाटेको धूप बनाउने कच्चा पदार्थ समेत दिएर बिदा ग¥यो । बाटेको धूप बनाउने तालिमको सहजीकरण यशोदा श्रेष्ठले गरेकी थिईन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button