होटल तथा पर्यटन व्यवसायीको साधारण सभाको तयारी पुरा

रामेछाप । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले साधारण सभाको तयारी पुरा भएको छ । संघले बिहीबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी चैत ३ गते मन्थलीमा हुन लागेको चौथो साधारण सभाको सम्पूर्ण तयारी सकिएको बताएको छ । आयोजकले साधारण सभा मन्थली स्थित तीनलाल पार्कमा हुने बताएको छ।
संघले साधारण सभामा १३ जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरू र तिनका प्रतिनिधिहरूले सक्रिय रूपमा सहभागिता जनाउने जनाएको छ । वाग्मती प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२४ लाई समेत सफल बनाउन रामेछाप जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रामेछापको मन्थलीमा संघको साधारण सभा गर्न लागिएको सङ्घका वाग्मती प्रदेश अध्यक्ष दामोदर नेपालले बताए ।
उनका अनुसार अन्तरक्रियात्मक ढंगले गरिने उक्त साधारण सभामा ‘‘राज्यका तीन वटै निकायमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरू,जिल्ला स्थित सरोकारवाला निकाय र वाग्मती प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरू ले पनि सहभागिता जनाउने छन् । साधारण सभा सँगै रामेछापको पर्यटन प्रवर्द्धनका लागि सात वटै प्रदेशका व्यवसायीहरूको बिचमा अन्तरक्रिया गर्ने र उक्त अन्तर्क्रिरया रामेछाप पर्यटन विकासका लागि मन्थली घोषणा पत्र तयार गर्ने कार्यक्रम रहेको अध्यक्ष नेपालले जानकारी दिए ।
भेलाले कोरोना भाइरस कोभिड–१९ र त्यसपछिको आर्थिक मन्दीका कारण धराशायी बन्दै गएको होटल व्यवसायीलाई केही मात्रमा भएपनि उठाउने विश्वास पनि आयोजक पक्षले लिएको छ । साधारण सभा सँगैको अन्तरक्रियाले प्रदेशको पर्यटन विकासमा एउटा इँटा थप्ने विश्वास आफूहरूले लिएको रामेछाप होटल पर्यटन व्यवसायी संघका जिल्ला अध्यक्ष कवीन्द्र तामाङले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button