पहिलो पटक मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर

रामेछाप । जिल्लामै मुटु रोग सम्बन्धी स्वास्थ्य जाँच गराउन पाउँदा सेवाग्राही खुसी भएका छन् । शिविरमा निःशुल्क, छिटो र राम्रो सेवा पाइएको रामेछाप नगरपालिका–३ का सेवाग्राही सन्तोषकुमार प्रधानले बताए । यस्ता स्वास्थ्य शिविरहरू गाउँगाउँसम्म लैजानु पर्ने उनको भनाइ छ । रामेछाप जिल्लामा मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको यो पहिलो पटक हो ।
एकदिने शिविरमा ३ सय ५० जनाको स्वास्थ्य जाँच गरिएको सहिद गङ्गालाल प्रतिष्ठानका उपाध्यक्ष नरेश महर्जनले जानकारी दिए । शिविरका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबाट चिकित्सक सहितका स्वास्थ्यकर्मीहरूको जम्बो टोली रामेछाप जिल्ला अस्पताल पुगेका थिए ।

सहिद गङ्गालाल श्रेष्ठको १०५ औँ जन्मोत्सवको अवसरमा सहिद गङ्गालालको जन्मस्थान रामेछापमा निःशुल्क मुटु रोग सम्बन्धी शिविर आयोजना गरिएको हो । जिल्ला अस्पताल रामेछापमा आयोजना गरिएको शिविरको उद्घाटन नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले गरेका थिए । सहिद गङ्गालाल श्रेष्ठको सम्झनामा सहिद गङ्गालाल प्रतिष्ठानले रामेछाप जिल्लामा निःशुल्क मुटु जाँच सम्बन्धी शिविर सञ्चालन गरेको हो।
आफू डाक्टरी पेसा छोडेर राजनीतिमा आएको प्रसङ्ग जोड्दै नेता कोइरालाले भने– ‘डाक्टरी पेसा आफ्नो दिमाग प्रयोग गरेर उपचार गर्ने हो, आफ्नो हातले गर्ने हो तर राजनीति कहिल्यै पनि आफ्नो कन्ट्रोलमा हुँदैन । राजनीतिमा उथलपुथलमा रमाउनु सक्नुपर्छ । म रमाइरहेको छु ।’ सर्वश्रेष्ठ पेसा कुनै छ भने त्यो डाक्टरी पेसा हो कोइरालाले भने– बेडमा बिरामी लम्पसार परेको छ तर पहिला पैसा बुझाउनुस् अनि अपरेसन गर्छु भन्ने डाक्टर मलाई चाहिँदैन । हामीले विवेक प्रयोग गर्नुपर्छ, विवेक प्रयोग नगर्ने मानिस पशु सहर हुन्छ उनले भने ।

नेता कोइरालाले डाक्टरहरूलाई आफ्नो दक्षता नागरिकको सेवामा प्रयोग गर्न आग्रह गरे । नेता कोइरालाले भने ‘शिविरमा आएका बिरामीलाई आफ्नै आमा÷बुबा, दाजुभाइ भनेर हेर्नुहोस् । अरू मान्छे भन्ने नठान्नुस् । भगवानको मुनीतिर कोही छन् भने डाक्टरहरू छन् ।’
रामेछाप अस्पतालमा मात्र नभई यस्तो शिविर जिल्ला भरी आयोजना गरिनु पर्ने संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छारामले बताए । उनले भने– काठमाडौँ सम्म पुग्न नसक्ने मुटु रोगीहरूका लागी जिल्ला भरी मुटु रोग सम्बन्धी शिविर चलाउनु पर्छ । जिल्लाका सबै नागरिकले यस्ता सेवा पाउनु पर्छ ।
जनताको स्वास्थ्य सबै भन्दा संवेदनशील भएकोले यसलाई प्रमुख एजेन्डामा राखेर स्वास्थ्य शिविरहरू सञ्चालन गरिँदै आएको रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपानेले बताए । उनले भने जनताको स्वास्थ्य सम्बन्धी नैसर्गिक अधिकार दिलाउनका लागी रामेछाप नगरपालिकाका सदा तत्पर छ ।
