मिटरब्याजी समस्या सम्बोधन गर्न सहजिकरण डेस्क

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले मिटरब्याजी समस्या सम्बोधन गर्न सहजीकरण डेस्क स्थापना गरेको छ । प्रशासनले मिटरब्याजी सम्बन्धी उजुरी तथा पीडितहरूको गुनासोको सुनुवाइ गर्न सहजिकरण डेस्क स्थापना गरेको हो ।
सोमबार जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै डेस्क सञ्चालनमा ल्याएको जानकारी गराएको छ । प्रशासनले खरिदार सम्झना भुजेललाई सहजीकरण डेस्क र प्रशासकीय अधिकृत प्रकाश प्रधानलाई गुनासो सुनुवाइ तथा सहजीकरण अधिकृतको जिम्मेवारी तोकेको छ।
गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइए पछि रामेछापमा पनि सहजीकरण डेस्क स्थापना गरिएको हो।
गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबिच गत फागुन २८ मा मिटर ब्याजसम्बन्धी समस्या समाधान गर्न चारबुँदे सहमति भएकाले सो सहमतिअनुसार डेस्क स्थापना गरी काम अघि बढाउन मन्त्रालयबाट निर्देशन गरिएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
मिटर ब्याजसम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सुनुवाइ गर्न जिल्ला प्रशासन कार्यालयहरूमा अधिकृत स्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सोसम्बन्धी विषय हेर्ने सहजीकरण डेस्कसमेत स्थापना गर्न र डेस्कमा खटिने कर्मचारीको विवरण (नामथर, पद, इमेल, सम्पर्क नम्बर तथा अन्य सम्पर्कका माध्यमहरू) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको थियो ।
साथै मिटर ब्याजसम्बन्धी पीडितहरूका गुनासो तत्काल सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जीवी जिएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको उनले जानकारी दिए। मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी गुनासोका लागि मोबाइल नम्बर ः ९८५१३६०६०३ (भाइवर, ह्वाट्स एप म्यासेजका लागि), इमेल meterbyaj@gmail.com तथा टोल फ्री नम्बर १११२ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button