उद्घोषण गर्न सिपालु भए सुकाजोरका महिला
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले महिलाहरू उद्घोषण गर्न सिपालु भएका छन् । रामेछाप नगरपालिका वडा नं. ७ ले वडाका महिलाको क्षमता विकासको लागि उद्घोषण तालिम सञ्चालन गरेपछि यहाँका महिलाहरू उद्घोषण गर्न सिपालु भएका हुन् ।
चैत्र २७ गतेदेखि मंगलबारसम्म चलेको तालिममा सहभागी महिलाहरूको उद्घोषण गर्ने क्षमता विकास भएको सक्रिय सुकाजोर महिला सञ्जालकी अध्यक्ष राशि कार्कीले बताइन् । उनले भनिन्, ७ दिनको तालिम लिएपछि म सहित वडाका २५ जना महिला दिदिबहिनीहरु कार्यक्रम सञ्चालन गर्न सक्ने भयौँ ।
तालीमको समापन कार्यक्रममा पुगेकी रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले नगरका महिलाहरूलाई आत्मनिर्भर बन्न कुनै तालिमको आवश्यकता परे नगरपालिका सहयोग गर्न तयार रहेको बताइन्।
सिकेको सीपलाई प्रयोगमा ल्याउन रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष समीर कार्कीले आग्रह गरे । आगामी दिनहरूमा थप सहयोग चाहिए आफूहरू सहयोग गर्न तयार रहेको उनले बताए।
तालिमको प्रशिक्षकको भूमिकामा नेपाल उद्घोषक संघका पूर्व अध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ खटेका थिए ।