स्वास्थ्य सेवा विभागमा नै छैन एन्टी रेबिज भ्याक्सिन

रामेछाप । स्वास्थ्य सेवा विभाग टेकुमा रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिनको अभाव भएको छ । सङ्क्रमित बाघ, स्याल, बाँदर जस्ता जङ्गली जनवार, भुस्याहा तथा घर पालुवा कुकुर, बिरालो लगायतले मानिसलाई टोकेमा रेबिज विरुद्धको सुई लगाउनुपर्ने हुन्छ । चिकित्सकहरूले आवश्यकता हेरि तीनदेखि पाँच भाइल सुई लगाउन सल्लाह दिने गरेका छन् । तर रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिनको देश भर पठाउने जिम्मेवार निकाय आफै सँग एन्टी रेबिज भ्याक्सिन छैन ।
पहिलो पटकको ठेक्का प्रक्रिया सफल नभएकोले दोस्रो पटक ठेक्का लागी प्रक्रियामा जाँदा एन्टी रेबिज भ्याक्सिन खरिदमा ढिलाइ भएको स्वास्थ्य सेवा विभाग टेकुका कर्मचारी कृष्ण सुवेदीले बताए । उनले भने एन्टी रेबिज भ्याक्सिनको अहिले टेन्डर प्रक्रिया पुरा भै सकेको छ । अब छिट्टै भ्याक्सिनको समस्या समाधान हुन्छ । आवश्यक मात्रमा राखिएको भ्याक्सिन गर्मीयाममा बढिमात्रामा खपत भएका कारण स्टक समेत सकिएको उनले बताए । उनका अनुसार विभागमा समेत ७ दिन देखि नै एन्टी रेबिज भ्याक्सिनको अभाव छ ।
स्वास्थ्य सेवा विभाग टेकुमा एन्टी रेबिज भ्याक्सिनको अभाव हुँदा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडामा समेत भ्याक्सिनको अभाव भएको छ। स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका निर्देशक वसन्त अधिकारीका अनुसार प्रदेशमा भ्याक्सिनको अभाव भएको ८ दिन भएको छ ।
स्वास्थ्य सेवा विभाग टेकुले ढिलासुस्ती गर्नाले मातहतका अस्पतालहरूमा समेत एन्टी रेबिज भ्याक्सिनको अभाव भएको छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाले एन्टी रेबिज भ्याक्सिन नपठाउँदा रामेछापको मन्थली अस्पतालमा एन्टी रेबिज भ्याक्सिन अभाव भएको छ। रामेछापको जिल्ला अस्पतालमा भने केही मात्रामा एन्टी रेबिज भ्याक्सिन बाँकी रहेको मेडिकल सुपरिटेन्डेन्ट केशव श्रेष्ठले बताए ।
जाडोमा भन्दा गर्मी मौसममा जीवजन्तुहरूले मानिसहरूलाई बढी आक्रमण गर्ने गरेका कारण रेबिज विरुद्धको सुईको बढी आवश्यकता पर्ने गर्छ । मन्थली अस्पतालमा मात्रै वार्षिक १ हजार भ्याक्सिन आवश्यक पर्ने गरेको छ । अन्य अस्पतालमा उतिकै मात्रमा भ्याक्सिनको आवश्यक पर्ने गरेको छ– मन्थली अस्पतालका डा. केशव सिं धामीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button