आगलागीबाट १७ वटा घर गोठ जले
रामेछाप । आइतवार एकै दिन रामेछापमा आगालागीबाट १७ वटा घर गोठ जलेका छन । रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारको ठाडा खोलामा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ । आइतवार दिउँसो १२ बजेको समयमा जङ्गलमा लागेको आगो गाउँमा पस्दा यति धेरै क्षति भएको हो । आगलागीबाट दिर्घमान श्रेष्ठको १ वटा ढुङ्गाको छाना र २ वटा खरको छाना भएको घर जलेर नष्ट भएको छ । सोही ठाउँका खड्ग बहादुर कुमालको १ वटा जस्ताको छाना भएको घर, १ वटा ढुङ्गाको छाना भएको घर र १ वटा खरको छाना भएको मतान पूर्ण रुपमा जलेको वडा नं ३ का वडाअध्यक्ष दल बहादुर प्रधानले जानकारी दिए ।
घरमा लागेको आगो निभाउने क्रममा दिर्घमान श्रेष्ठ घाईते भएका छन् । आगलागीबाट खड्ग बहादुर कुमालले पालेको ६० वटा ब्रोईलर कुखुरा पनि जलेर नष्ट भएको वडाअध्यक्ष प्रधानले जानकारी दिए । अगलागीबाट ६ घरमा भएको सवै अन्नपात, लत्ताकपडा, नगद जलेर नष्ट भएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । स्थानियहरु आगो नियन्त्रणमा खटिएका छन् ।
यस्तै रामेछाप नगरपालिका वडा नं. ६ डान्सिङटारमा आगलागी हुँदा ४ वटा घर गोठ जलेर नष्ट भएको छ । दिउँसोकोे समयमा जङ्गलमा लागेको आगो गाउँमा पस्दा २ वटा घर र २ वटा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट जबरबहादुर गोले र तुलामाया मगरको घर जलेर नष्ट भएको स्थानिय पूर्ण बहादुर मगरले जानकारी दिए ।
यहाँ पनि आगलागीबाट घरमा भएको सवै अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । स्थानियहरु आगो नियन्त्रणमा खटिएका छन् । घटनाको क्षति बारे थप विवरण आउन भने बाँकी छ ।
यस्तै रामेछाप नगरपालिका वडा नं. ७ डुँडेमा आगलागी हुँदा २ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । दिउँसोको समयमा जङ्गलमा लागेको आगो गाउँमा पस्दा २ घर जलेको हो । आगलागीबाट तेज बहादुर मगरको १ वटा जस्ताको छाना भएको घर र खरले छाएको २ वटा गोठ पूर्ण रुपमा जलेको छ । रोहित हायुको ३ वटा खरले छाएको गोठ र डेक बहादुर श्रेष्ठको १ वटा घर र गोठ जलेको स्थानिय रोहित हायुले जानकारी दिए । आगालागीबाट मानविय तथा पशुचौपाया क्षति नभएपनि घर भित्र रहेको धनमाल,अन्नपात,लत्ताकपडा सबै जलेर नष्ट भएको उनले बताए । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगलागी पीडितहरूका लागी ३० थान पाल जिल्ला प्रशासन कार्यालयबाट पठाई सकिएको सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेले बताए ।