रामेछापमा हाजिर गरेर काम चलाऊ हाकीम लागे दोलखा

रामेछाप । उद्योग तथा वाणिज्य कार्यालय रामेछापका कार्यवाहक कार्यालय प्रमुख रामेछापमा हाजिर गरेर दोलखा हानिएका छन् । कार्यवाहक कार्यालय प्रमुख निरोज खड्का उद्योग तथा वाणिज्य कार्यालय रामेछापमा हाजिर गरेर सेवाग्राहीको कुनै प्रवाह नगरी गर्मी छल्न दोलखा गएका हुन् ।
कार्यालय प्रमुखले कार्यवाहक दिएपछि कार्यवाहकले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । कार्यावाहक तोकिएको अवधिभर प्रशासनिक बाहेकका कार्यालय प्रमुखको जिम्मेवारी कार्यवाहकले नै सम्हाल्नु पर्ने हुन्छ । कार्यवाहक दिनु भनेको कार्यालयको सम्पूर्ण जिम्मेवारी दिनु हो । तर उद्योग वाणिज्य कार्यालय रामेछापका कार्यवाहक कार्यालय प्रमुख यतिसम्म गैर जिम्मेवार बनेकी उनले आफ्नो काम, कर्तव्य र अधिकार नै भुलेर अन्तर जिल्ला हानिए । कार्यालय प्रमुख नहुँदा सेवाग्राहीलाई सास्ती हुन्छ भन्ने कुराको कुनै हेक्का नराखी कार्यवाहक कार्यालय प्रमुख खड्का रामेछापमा हाजिर गरी तलब पकाएर चिसो हावासँग रमाउन दोलखाको चरिकोट पुगेका हुन् ।
यसरी कार्यालयको कार्यवाहक पाएको व्यक्ति जिल्ला छाडेर जान मिल्छ त ? भन्ने गन्तब्य टुडेको जिज्ञासामा उद्योग तथा वाणिज्य कार्यालय रामेछापका एक कर्मचारीले भने – बिहान यहाँ हाजिर गरेर जानु भएको छ हाकीम साब, फेरि बिहान हाजिर गर्न आइपुग्नु हुन्छ ।
उद्योग तथा वाणिज्य कार्यालय रामेछापबाट तलब खाएर व्यक्तिगत रमाइलोको लागि जिल्ला छाडेर सेवाग्राहीहरूलाई सेवा नदिइ मनोमानी ढङ्गले हिँड्नु कार्यवाहक कार्यालय प्रमुख खड्कालाई अलिकति सङ्कोच, डर र लाज त लाग्न पर्ने हो । तर उनी लाज, डर, सङ्कोच नमानी’ ‘डन’ शैलीमा कार्यालय छोडेर हिँडे । कार्यालय मात्रै होइन जिल्ला नै छोडेर हिँडे । रामेछापका नागरिकको सेवा गर्छु भनेर नागरिकको करबाट तलब खाएर मनपरी गर्ने छुट कसले दियो कार्यवाहक कार्यालय प्रमुख खड्कालाई ? यो आम नागरिकको प्रश्न हो ।
कार्यवाहकले दिए कार्यवाहक
नियम अनुसार कार्यवाहकले पुनः कार्यवाहक दिनै मिल्दैन । कार्यालय प्रमुखले आफू कतै जाँदा कार्यालयमा आउने सेवाग्राहीलाई समस्या नहोस्, कार्यालयको काम चलोस् भनेर नै कार्यवाहक दिने गर्छन् । तर उद्योग तथा वाणिज्य कार्यालय रामेछापका कार्यवाहक हाकीम खड्काले पुनः कार्यवाहक दिएका छन् । आफू कार्यालयमा हाजिर गरेर दोलखा हिँडेपछि लिखितम् रूपमा कार्यवाहक नदिए पनि कार्यालयबाट हुने कामकारबाहीमा निमित्त कार्यालय प्रमुखको स्ट्याम्प लगाएर एक करारका कर्मचारीले हस्ताक्षर गरेको पाइएको छ । कार्यवाहक हाकीम खड्कालाई पुनः कार्यवाहकको जिम्मेवारी दिने अधिकार कसले दियो ?
सूचना अधिकारीको मोबाइल कार्यालयको टेबलमा
कार्यालयको सूचना सम्प्रेषणका लागि नेपाल सरकारले हरेक कार्यालयमा एक सूचना अधिकारी तोक्नु पर्ने व्यवस्था गरेको छ । र, सूचना अधिकारीलाई सरकारले नै मोबाइलको समेत व्यवस्था गरेको हुन्छ । तर सूचना अधिकारी समेत रहेका कार्यवाहक हाकीम खड्काले सो मोबाइल कार्यालयमै छोडिदिए । आफू बिदा बसेको अवस्थामा सूचना अधिकारीले मोबाइल छाडेको भए प्रश्न गर्ने ठाउँ नै थिएन । तर गर्मी छलेर चिसो हावा खाँदै रमाउन रामेछापमा हाजिर गरेर चरिकोट पुगेका सूचना अधिकारीलाई मोबाइल कार्यालयमा छाडेर आफ्नो जिम्मेवारीबाट पन्छिने छुट कसले दियो ?
यो विषयमा गन्तव्य टुडेले सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेसँग जिज्ञासा राख्दा उनले भने – हामीले कार्यालय प्रमुख सुबोध कुमार साह कर्मयोगीसँग कुरा ग¥यौँ । उहाँले गल्ती भएको र अब यस्तो गल्ती नहुने प्रतिबद्धता जनाउनु भएको छ । यो पटकलाई हामीले फोन मार्फत सुधारका लागि भनेका छौँ । आगामी दिनमा यस्तो भए कानुनी दायरा भित्र रहेर कारबाहीमा जानेछौँ ।