कहिले हुन्छ मन्थलीको फोहोर व्यवस्थापन ?

रामेछाप । मन्थली नगरपालिकाले आउँदो ६ महिना भित्र डम्पिङ साइट टुङ्गो लगाउने गत २०८० पुष २६ गते बिहीबार नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले बताएका थिए । उनले २०८० पुष २५ गते बुधवारका दिन सम्पन्न १४ औँ नगर सभाले पारित गरेको निर्णयहरू सार्वजनिक गर्दा पत्रकार बोलाएर नै सानका साथ भनेका थिए, ६ महिना भित्र डम्पिङ साइट टुङ्गो लगाउँछौ ।
नगरपालिकाको यो निर्णयलाई मन्थलीवासीले ऐतिहासिक सम्झे उनीहरूले नगरपालिकाको यो निर्णयलाई विश्वास गरे र कुरे मन्थलीको फोहोर व्यवस्थापन हुने दिन । नगरपालिकाले निर्णय गरेको १ महिना बित्यो, २ महिना बित्यो, ३ महिना बित्यो, ४ महिना पनि बित्न लाग्यो, तर मन्थली बजारको फोहोर यही रणजोर खोलामा फाल्न छाडिएन, स्थानीय पवन रोकाले बताए ।
बजार भरिको फोहोर उठाएर रणजोर नदी किनारमा फाल्दिन्छन् । त्यो फोहोरलाई आगो लगाएर झन् फोहोर बनाई दिन्छन् । घरको छेउछाउमा बजार भरिको फोहोर थुपार्दा हामीलाई स्वास्थ्यमा समेत समस्या आउने गरेको छ । नगरपालिकाले फोहोर व्यवस्थापन गर्छ भनेको सुनेको थिए तर खै किन गरेको छैन ? स्थानीय पवित्रा खड्काले बताइन् ।
हामीले धेरै पटक विरोध गर्दै आएका छौँ, रणजोर पुछारमा फोहोर फाल्न नदिन । तर नगरपालिकाले छिट्टै व्यवस्थापन गर्छौँ भन्दै अटेर गर्दै आएको छ । नगरपालिकाको अटेरी र लापरबाहीका कारण त्यसको सिकार हामी हुनु परेको छ । नगरपालिकाले हाम्रो स्वास्थ्य माथि खेलबाड गर्दै आएको छ । खड्काले थपिन् ।
मन्थली बजारको फोहोर तामाकोशी नदी किनारमा फाल्ने र त्यही नदीको पानी खानु पर्ने बाध्यता छ । तर नगरपालिका यो विषयमा चनाखो नहुनु भनेको गैरजिम्मेवार हुनु हो । नगरपालिकाले यसको समाधान छिट्टै गर्नु अत्यावश्यक रहेको स्थानीयहरूको भनाई छ ।
मन्थलीको यो दीर्घ रोग निर्मूल पार्ने उपाय स्याङ्जाको वालिङ नगरपालिकाले फोहोर व्यवस्थापनका लागि अपनाएको मोडल हुन सक्छ। उक्त नगरपालिकाले सबै भन्दा पहिले फोहोर वर्गीकरण गर्ने, त्यसलाई व्यवस्थिततवरले सङ्कलन गर्ने र फोहोरको प्रकृतिअनुसार व्यवस्थापन वा विसर्जन गर्ने रणनीति अख्तियार गरेको छ। जस्तो–कुहिने फोहोरलाई उत्पत्तिस्थल अर्थात् घरमै मल बनाउन लगाएर बालीनालीमा हाल्ने, नकुहिने फोहोर नगरपालिकाले सङ्कलन गरेर त्यसलाई पनि प्रशोधन गर्न सकिनेलाई प्रशोधन गर्ने र सिसाजन्य पदार्थलाई चाहिँ सोझै बेचिदिने उपाय अपनाउँदै आएको छ।
यसरी हेर्दा यो नगरपालिकामा कुनै पनि फोहोर खेर जाँदैन। मन्थली नगरपालिकालगायत अन्य नगर,गाउँपालिकाले फोहोर व्यवस्थापनकै लागि मासिक करोडौँ रुपियाँ खर्चिरहेका बेला वालिङ नगरपालिकाले भने खर्च कटाएर उल्टै करिब ३० लाख रुपैयाँ आम्दानी गर्छ। यसबाट एकातिर फोहोर व्यवस्थापनका लागि गर्नुपर्ने खर्च जोगिएर त्यो नगरवासीको शिक्षा, स्वास्थ्य जस्ता अत्यावश्यक आधारभूत क्षेत्रमा खर्चन सकिन्छ भने अर्कोतर्फ फोहोर व्यवस्थापन नगर नेतृत्वका लागि टाउको दुखाइको विषय पनि हुँदैन।
त्यति मात्र हैन, फोहोर विसर्जन वा व्यवस्थापन केन्द्रलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन गरिदिएको छ यो नगरपालिकाले। यस्तो ठाउँलाई डम्पिङ साइट भनिँदै आएको छ। डम्पिङ साइट भन्नासाथ मानिसले फोहोर चिज राखिने, गनाउने, बसिटिक्नै नहुने कल्पना गर्छन् र सुन्दै पनि नाक खुम्च्याउँछन्। तर यो नगरपालिकाले भने यो स्थानलाई सरसफाइ केन्द्र नामकरण गरेको छ। यसबाटै पनि वालिङ नगरपालिकाले फोहोरलाई कसरी हेर्दोरहेछ भन्ने थाहा पाउन सकिन्छ।
फोहोर फ्याँकिने ठाउँ धेरै टाढाबाट गनाउँछ। त्यहाँ बसिटिक्नै हुन्न। तर यो अन्यत्रको कुरा हो। वालिङमा भने न सरसफाइ केन्द्र गनाउँछ न त मानिस यसको वरिपरिको बाटोबाट हिँड्नै डराउँछन्। उल्टै सरसफाइ केन्द्र नजिकै उनीहरू पिकनिक आउँछन्। निकै समयदेखिको व्यस्ततालाई मनोरञ्जनमा परिणत गर्छन् र नाचगान गरी मीठोमसिनो भोजन गरी सन्तुष्ट भएर फर्कन्छन्। नगरपालिकाले सरसफाइ केन्द्रलाई आकर्षक बनाउन हरियाली कायम राख्ने, गन्ध नआउने वातावरण बनाउने जस्ता प्रयास थालेकाले फोहोर पनि घृणाको चिज नबनेको हो।
दुर्गन्धित फोहोरको यति सुन्दर कथा हुँदाहुँदै पनि मन्थलीले चाहिँ मेसो नपाउँदा फोहोरलाई सधैँ दुस्मन ठानिरहेको छ। यसका बहुआयामिक फाइदाबारे सोच्नु भन्दा कतै लगेर फ्याँक्दिनुलाई उसले फोहोर व्यवस्थापनको एक मात्र विकल्प ठानेको छ। नगरको नेतृत्व र फोहोरमैला व्यवस्थापनको जिम्मेवारी पाएका निकायहरूको सबैभन्दा ठूलो कमजोरी नै यही रह्यो। यस्तो अवस्थामा वालिङ नगरपालिकाले अपनाएको फोहोरलाई टाउको दुखाइ नठान्ने सोच प्रवर्द्धन गर्ने र यसलाई समस्या भन्दा पनि अवसरका रूपमा लिने रणनीति अख्तियार गर्ने हो भने फोहोर कहिल्यै पनि समस्याका रूपमा रहँदैन। समस्या नभएपछि न विसर्जन र व्यवस्थापनको उपाय खोज्नुप¥यो न त त्यस क्रममा बर्सेनि झेल्दै आएका विभिन्नखाले समस्या नै सामना गर्नुपर्छ।
मन्थली नगरपालिकाले आफ्नो तर्फबाट काम गरिरहेको नगरका प्रवक्ता गोपाल श्रेष्ठले बताए । हामी छिट्टै यो समस्याको समाधान गर्न खटिरहेकाछौँ उनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button