आगो लगाउनेलाई ठाउँको ठाउँ कारबाही गर्नु – प्रजिअ निरौला

रामेछाप । जिल्लाको वनहरू आगलागीको प्रकोप बढेर वन सँगै बस्ती समेत सखाप पार्न थाले पछि प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले आगो लगाउनेलाई ठाउँको ठाउँ कारबाही गर्ने बताएकी छिन् । वन उपभोक्ता समितिले पनि आगो लगाउनेलाई समात्न निगरानी समूह बनाएर खटाउन र शङ्कास्पद व्यक्तिलाई प्रहरीको जिम्मा लगाउन प्रजिअ निरौलाले आग्रह गरिन् ।
जिल्लाका जङ्गलहरूमा आगलागी विकराल रूपमा फैलिएको छ । पछिल्लो समय रामेछापको प्राय जसो सामुदायिक वन डढेलोले सखाप पारेको छ। डिभिजन वन कार्यालय रामेछापका अनुसार पछिल्लो तीन महिनामा ४ हजार ४ सय हेक्टर वनक्षेत्र डढेलोले नष्ट भएको छ।
तीव्र रूपमा वन डढेलो फैलन थालेपछि दैविक प्रकोप उद्धार समितिले नियन्त्रणका उपायहरू खोजीका लागी सरोकारवालाहरू सँग छलफल सुरु गरेको छ । आम नागरिकलाई असर गर्ने र कानुनले समेत वर्जित गरेको विषयमा दिनप्रतिदिन आगलागीको घटना घटेकाले यसलाई नियन्त्रणमा लिन वन उपभोक्ता समितिलाई जिम्मेवार बनाउनु पर्ने सरोकारवालाहरूको भनाई छ ।
वनमा आगो लगाउनेलाई पक्रनका लागी सामुदायिक वनका उपभोक्ता समितिले सुराकीको काम गर्नु पर्ने, वनमा आगो लागेमा बयानका लागी उपभोक्ता समितिलाई डिभिजन वनको निगरानीमा बोलाइनु पर्ने, र वनमा आगो लगाउनेलाई कडा भन्दा कडा कारबाही गरिनु पर्ने रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद घिमिरेले बताए । आगलागीका कारण ४० हजार मिटर पाइप नष्ट भएको र जसका कारण रामेछाप नगरपालिकाका बस्तीहरूमा पिउने पानीको अभाव भएकोले उनले दातृ निकायहरूलाई सहयोग गरिदिन समेत आग्रह गरे ।
आजकाल गाउँमा नागरिकको सङ्ख्या पनि धेरै कम भएकोले जङ्गलमा घाँस पत्कर धेरै भएको कारणले पनि आगलागी बढेको रामेछाप नगरपालिकाका नगरप्रमुख लव श्री न्यौपानेले बताए । उनले भने– झनै सल्लाको रुख भएको ठाउँमा आगलागीको बढी जोखिम भयो । आगलागी नहुन दिनका लागी यो सल्लाको रुख मास्न प¥यो र अर्को बर्सेनि फागुन महिनामै वन काउपभोक्ता समितिले वनको सरसफाइ गर्न प¥यो ।
स्याटलाइटबाट हेर्दा व्यक्तिको निजी जग्गाबाट आगलागी सुरु भएको देखिएको डिभिजन वन अधिकृत ओमसागर भण्डारीले बताए । उनले भने नागरिक सचेत हुने हो भने आगलागी नै हुँदैन, आगो लगाउँदा केही फरक पर्दैन भन्ने नागरिकको सोचाइका कारण धेरै क्षति भएको हो ।
गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले र हालसम्म रामेछापको ४ हजार ४ सय हेक्टर भन्दा बढी वनक्षेत्र डढेलोले नष्ट बनाएको डिभिजन वन कार्यालयका सूचना अधिकारी देवेन्द्र यादवले बताए । यसबाट महत्त्वपूर्ण जडीबुटी, वन्यजन्तु र करोडौँका रुख बिरुवा नोक्सान भएको उनले जनाए।
वन डढेलो नियन्त्रणको लागि प्रहरीले पनि प्रयास गरिरहेको छ। केही समयअघि वनमा डढेलो लगाउँदै गरेको अवस्थामा प्रहरीले १ जना पक्राउ गरेको थियो। कसुर साबित भएमा क्षति भएको बिगो असुल गरी तीन वर्ष कैद वा ६० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको रामेछाप जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रदिपकुमार सिंहले बताए।
दैनिक आगलागी र वन डढेलोको घटनाहरू बढिरहेको कारणले त्यसलाई न्यूनीकरण गर्न डढेलो लगाउनेको सूचना दिनेलाई पुरस्कारको घोषणा गरिए आगो लगाउनेको पहिचान गर्न सहयोग पुग्न सक्छ ।गैरकानुनी काम गर्नेलाई कारबाही गर्ने र त्यस्ता कार्यको न्यूनीकरण गर्न सम्बन्धित निकायले ध्यान नपु¥याउने हो भने आगलागीका कारण धेरै धनजनको क्षति हुने निश्चय छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button