रामेछापको १५२ ठाउँमा आगलागी: ४ हजार ५ सय हेक्टर बढी वन सखाप
![](https://gantabyatoday.com/wp-content/uploads/2024/05/Dadelo-1-780x470.jpg)
रामेछाप । जिल्लाका आठ ओटै स्थानीय तहका १५२ स्थानमा भएको आगलागीबाट ४ हजार ५ सय हेक्टर क्षेत्रफलमा रहेको वन सखाप भएको छ। सबै भन्दा बढी आगलागी दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालय रामेछापले जनाएको छ ।
डिभिजन वन कार्यालय रामेछापका डिभिजन वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट १५२ ओटा सामुदायिक र कबुलियत वनमा डढेलोले क्षति गरेको छ।
गत चैत पहिलो हप्तादेखि सुरु भएको डढेलो लाग्ने क्रम अझै पनि रोकिएको छैन। गत चैत्र १ गते रामेछाप नगरपालिका–९ को हर्देनी पाखा सामुदायिक वनबाट आगो लाग्न सुरु भएको थियो।
हरेक वर्ष सामान्यतयाः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ। हरेक वर्ष लाग्ने डढेलोले वन र वन्यजन्तु सहित मानवीय र मानवीय भौतिक संरचना लगायतमा ठूलो क्षति हुने गरेको छ।
धेरै वन क्षेत्रमा आगो लाग्दा वन्यजन्तु सँगै मानवीय क्षति समेत भएको जिल्ला वन कार्यालय रामेछापले बताएको छ। गत वर्षको तुलनामा यस वर्ष वनमा कम मात्रामा डढेलो लागेको सूचना अधिकारी देवेन्द्र यादव बताउँछन्। उनले भने – अघिल्लो वर्ष मानवीय क्षति भएको थिएन तर यो वर्ष आगलागीका कारण २ जनाले ज्यान गुमाइसकेका छन् ।
रामेछापका वनहरूमा फैलिएका डढेलोहरू मानवीय कारण नै हुन्। वन पैदावार सङ्कलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण हुन्। प्रहरीले आगलागी गर्नेहरूको खोजी गरिरहेको भए पनि अहिलेसम्म १ जनालाई मात्र शङ्काका आधारमा पक्राउ गरेको छ ।
मुलुकी ऐनमा आगो लगाउनेको महलले आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ। वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापहरूलाई अपराधको रूपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने व्यवस्था गरे पनि त्यो कागजमै सीमित छ।