रामेछाप अस्पतालमै बालबालिकाको उपचार

रामेछाप । रामेछाप अस्पतालले बाल बालिकाको उपचार सुरु गरेसँगै आफ्नो बालबालिकाको उपचारका लागी सहरका अस्पतालमा जान पर्ने बाध्यता हटेको रामेछाप नगरपालिका वडा नं. ८ की सरस्वती भुजेलले बताइन् । उनले भनिन् – बालबच्चा बिरामी हुँदा आमालाई ठुलो पीडा हुन्छ । आफ्ना सन्तान बिरामी भए पछि अरुकेही नसोची सहर कुद्न पथ्र्यो । अब जिल्लामै उपचार हुने भयो ।
स्थानीय सुधीर कार्की पनि रामेछाप अस्पतालले सुरु गरेको बालबालिकाको उपचार सेवा प्रति खुसी छन् । रामेछाप नगरपालिका वडा नं. ७ निवासी कार्की भन्छन् – जिल्लामै अस्पतालले बालबालिकाको उपचार सुरु गरेर जिल्लावासीलाई ठुलो सहयोग गरेको छ । यो अस्पतालको अरू सेवा जस्तै यो सेवा पनि प्रभावकारी बनोस् ।
जिल्ला अस्पतालको सेवा प्रभावकारी बन्दै गएकोले रामेछापका नागरिकहरूलाई महँगो अस्पतालमा गएर पसिनाको कमाई सिध्याउने र ऋण गरेर उपचार गर्ने समस्यामा कमी आउनेको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे बताउँछन् । नयाँघरे भन्छन्– उपचारका लागी राजधानी धाउने समस्याबाट अब रामेछापका नागरिकले मुक्ति पाउनेछन् । जिल्लामा नै यस्तो सुविधा सम्पन्न अस्पताल हुनु रामेछापवासीको लागि खुसीको कुरा हो ।
अस्पतालबाट प्रवाह हुने सबै खालको सेवालाई अब्बल बनाउँदै आएको रामेछाप अस्पतालले बाल बालीकाका लागि सबै खालको उपचार सेवा आरम्भ गरेको हो । बाल बालिकाहरूका लागि उपचार सेवा अन्तर्गत रामेछाप अस्पतालमा नियमित रूपमा ओपिडी,इमर्जेन्सी र एसएनसियु सेवा सुरु भएको जानकारी रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले जानकारी दिए ।
बाल बालिकाहरूको उपचार सेवाका लागि डाक्टर नारायण यादवबाट नियमित रूपमा ओपिडी,इमर्जेन्सी र एसएनसियु सेवा संचालन भइरहेको पनि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रेष्ठले बताए । डाक्टर यादव सँग चितवन मेडिकल कलेजमा रहेर लामो समय सम्म बाल रोग विभागमा काम गरी सकेको अनुभव छ ।
डाक्टर यादवबाट बाल बालिकाहरूको हरेक किसिमको उपचार अब रामेछाप अस्पतालबाटै हुन भएकाले आफ्ना बालबच्चालाई उपचारका लागी जिल्ला अस्पतालमा ल्याउन पनि डा श्रेष्ठले आग्रह गरे ।
अस्पतालका नि.मेडिकल सुपरिटेन्डेन्ट श्रेष्ठले अस्पतालको विशेषज्ञ सहितको सेवा प्रवाह, तालिम प्राप्त जनशक्तिद्वारा सेवा प्रवाह, आधुनिकीकरण सहितको सेवा, सरकारको प्रत्यक्ष स्वामित्व भएकोले नागरिकहरूलाई सर्वसुलभ रूपमा सेवा प्रवाह हुने भएकोले जिल्ला अस्पतालमा सेवा लिन आउन आग्रह गरे ।
जिल्ला अस्पतालमा विभिन्न कार्यक्रमद्वारा निःशुल्क सेवाहरू समेत सञ्चालनमा रहेको डा. श्रेष्ठले बताए । उनका अनुसार मुख्यमन्त्री जनता कार्यक्रम, सामाजिक सुरक्षा इकाई, प्रसूति तथा प्रसूतिजन्य शल्यक्रिया, नवजात शिशुलाई उपचार, विशेषज्ञद्वारा मानसिक, नाक कान र घाँटी सम्बन्धी जाँच, एकद्वार संकट व्यवस्थापन लगायतका निःशुल्क सेवाहरू समेत अस्पतालबाट प्रवाह हुने गरेको छ । श्रेष्ठले भने, भर्ना भएका बिरामीहरूलाई निःशुल्क सन्तुलित खाना तथा खाजाको व्यवस्था, भर्ना भएको बिरामीहरूलाई शैया निःशुल्क, गर्भवती महिला र कुरुवालाई मातृ गृहमा निःशुल्क बस्ने र खाने व्यवस्था, प्रविधियुक्त मेसिनद्वारा जाँच, ल्याब सम्बन्धी विशेष जाँचहरू (थाईरोईड जाँच, भिटामिन, कल्चर, आदि), सदाबहार शान्त वातावरण समेत अस्पतालमा उपलब्ध छन् । साथै अस्पतालको संरचना समेत व्यवस्थित रहेको उनले बताए ।
अहिले जिल्ला अस्पतालमा विभिन्न सेवा सुविधाहरू थप भएसँगै सेवाग्राहीहरूको चाप पनि बढेको अस्पताल प्रशासन बताउँछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button