तामाकोशी बोर्डिङका प्रधानाध्यापक ‘राष्ट्रिय शिक्षा सम्मान’बाट सम्मानित
रामेछाप । तामाकोशी अंग्रेजी बोर्डिङ स्कुलका प्रधानाध्यापक दीपक खड्का ‘राष्ट्रिय शिक्षा सम्मान–२०८१’ बाट सम्मानित भएका छन् । खड्कालाई शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै फोकस नेपालले सम्मान गरेको हो ।
गत शनिवार काठमाडौँ स्थित राष्ट्रिय नाचघर जमलमा भव्य समारोहका बिच प्रधानाध्यापक खड्कालाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सम्मान पत्रले सम्मान गरेका हुन् ।
आफूहरूले प्रविधि मैत्री शिक्षालाई पच्छ्याउँदै खेलकुद, हाजिरी जवाफ चित्रकला लगायतका शैक्षिक गतिविधिलाई पनि निरन्तर दिँदा उत्कृष्ट नतिजा ल्याइरहेको प्रअ खड्काले बताए ।
पूर्व स्वास्थ्य मन्त्री भवानी खापुङ्सहितको उपस्थितिमा भएको सो कार्यक्रममा देशका विभिन्न कला, साहित्य, कृषि, पशुपालन, पर्यटन, शिक्षा, समाजसेवी आदी क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरू सम्मानित भएका थिए ।
खड्का वि.स.२०५९ सालमा स्थापित तामाकोशी इङलिस बोर्डिङ स्कुल सञ्चालनमा ल्याएर जिल्लामा शिक्षाको क्षेत्रमा विशेष योगदान पुर्याउँदै आएका छन् ।
खड्काको नेतृत्वमा संचालित तामाकोशी बोर्डिङ स्कुल प्रथम पटक वि.स.२०६७ मा (एसएलसी) परीक्षामा भाग लिएर उत्कृष्ट नतिजा सहित जिल्लामा अब्बल विद्यालयमा परिचित रहेको छ । त्यस यता निरन्तर सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै उत्कृष्ट नतिजा ल्याइरहेको छ ।
साथै मन्थली नगरपालिकाले सञ्चालन गरेको शैक्षिक सत्र २०७९ र २०८० मा ४ जी.पी.ए.सहित सत प्रतिशत नतिजा ल्याउन पनि यो विद्यालय सफल भएको छ । भने, आधारभूत तह (कक्षा ८) को परीक्षामा निरन्तर नगर प्रथम हुँदै आएको छ ।