एकल पुरुष र वृद्ध कन्यालाई भत्ता

रामेछाप । जिल्लाको सुनापति गाउँपालिकामा एकल पुरुष तथा वृद्ध कन्यालाई भत्ता प्रदान गरेको छ । पालिकाले ५० वर्ष कटेका एक सय भन्दा बढी एकल पुरुष तथा वृद्ध कन्याहरूले मासिक एक हजारका दरले भत्ता दिएको हो ।
एकल पुरुष तथा विवाह नगरी बसेका वृद्ध कन्याहरूको अवस्था दुःख लाग्दो भएको गुनासो आएपछि गाउँपालिकाले एकल पुरुष तथा वृद्ध कन्या भत्ता प्रदान गरेको पालिकाले जनाएको छ । पालिकाका अनुसार गाउँपालिकाको पाँच वटा वडाका १ सय १६ जना लाभग्राहीहरूले मासिक एक हजार रुपैयाँका दरले भत्ता पाइरहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठले बताए । उनले भने ‘‘एकल पुरुष तथा विवाह नगरी बसेका वृद्ध कन्याहरूको अवस्था दुःख लाग्दो भएको गुनासो आएपछि गाउँपालिकाले एकल पुरुष तथा वृद्ध कन्या भत्ता प्रदान गरेको हो । श्रेष्ठले गएको असार महिनादेखि मङ्सिर महिनासम्म सात लाख पाँच हजार रकम एकल पुरुष तथा वृद्ध कन्या भत्तामा खर्च भएको बताए ।
सङ्घीय सरकारले एकल महिलालाई मात्र भत्ता उपलब्ध गराउँछ । हामीले ५० वर्ष माथिका एकल पुरुष र वृद्ध कन्यालाई पनि भत्ता दिइरहेका छौँ । यसले पुरुष र वृद्ध कन्या दुवैलाई जीवन चलाउन थोरै भए पनि सहयोग पुगेको छ । गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले भने ।
गाउँपालिकाले द्धन्द्धपीडितलाई पनि मासिक एक हजार देखि एक हजार पाँच सय रुपैयाँसम्म भत्ता दिने तयारी गरिरहेको अध्यक्ष तामाङले बताए ।