शैलुङ पानी फ्याक्ट्रीमा सिल, खाद्य प्रविधि तथा गुण नियन्त्रणले लगायो बिक्री वितरणमा रोक

उपभोक्ताको स्वास्थ्यलाई ख्यालनै नगरी वर्षौँ देखि बजारमा बेचिँदै आएको अक्वा शैलुङ प्रशोधित पिउने पानी फ्याक्ट्री सिल गरिएको छ । सिल गरिएसँगै शैलुङ पानी बिक्री वितरणमा रोक लगाइएको छ । गत ०७ गते सोमवार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले शैलुङ पानीमा कैफियत देखिएकोले फ्याक्ट्री सिल गरेर बिक्री वितरण गर्न रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय रामेछाप, उद्योग तथा वाणिज्य कार्यालय, रामेछाप र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा मन्थली नगरपालिका वडा नं. १ स्थित शैलुङ्ग स्प्रिङ वाटर उद्योगको अनुगमन गर्दा उक्त उद्योगबाट उत्पादित प्रशोधित पिउने पानीको बोतल (१००० मि.लि.) मा लेबल विवरण अस्पष्ट भएको पाइएको थियो । लेबल विवरण अस्पष्ट भएको पाइए पछि जिल्ला भित्र र जिल्ला बाहिरका बजारहरूमा शैलुङ पानी बिक्रीको लागि रोकिएको हो । लेबल विवरण अस्पष्ट शैलुङ पानी बिक्रीको लागि पठाएको पाइएकोले उक्त पानी २०८१।०२।०९ गते (आज) सम्म फिर्ताल्याई सक्नु भनी कार्यालयले निर्देशन दिएको छ ।
उक्त उद्योगले उत्पादन गरेको शैलुङ पानी प्रयोग नगर्न तथा उद्योगबाट बिक्री गरेका पानी पसल ÷ फर्ममा फिर्ता लिन आएमा समेत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीमा जानकारी दिन कार्यालयले अनुरोध गरेको छ ।
उपभोक्ताको स्वास्थ्यलाई ख्यालनै नगरी शैलुङ पानी बिक्री वितरण भएको छ भन्ने समाचार यस अघि पनि गन्तव्य टुडेले लेखि सकेको छ । गन्तव्य टुडेले ’अक्वा शैलुङ प्रशोधित पिउने पानी’ नाम मात्रैको प्रशोधित पिउने पानी हो भन्दा कुनै फरक पर्दैन । केही समय अगाडी ’अक्वा शैलुङ प्रशोधित पिउने पानी’को सिलप्याक गरेको बोटलको भित्र किरा कुदिरहेको अवस्थामा भेटिएको थियो । उपभोक्ताको स्वास्थ्यलाई ख्याल नै नगरी आफ्नो फाइदा मात्र हेर्ने यो पानी कम्पनी निर्बाध रूपमा चलिरहेको छ । गल्ती माथि गल्ती गर्दा पनि नियमक निकाय मौन छ । रमिता हेरिरहेको छ भनेर लेखेको थियो ।
शैलुङ स्प्रिङ वाटर ईन्ड्रस्टिका सञ्चालक रामबाबु गिरीको यस्तो हर्कत हुँदा समेत तालुक निकायले पटकपटक थोरै जरिवाना र अल्टिमेट दिएर छाडिदिने गरेको छ । पिउने पानी नागरिकको स्वास्थ्यमा प्रत्यक्ष जोडिन्छ । पानी सजीव जीवन आधारका लागि महत्त्वपूर्ण कुरा हो । तर, यही पानीमा बेइमानी र मनोमानीले गर्दा बेला–बेलामा समस्या पनि निम्तिने गर्छ ।
शैलुङ पानीलाई अनुगमन गरेको मितिले १५ दिन भित्र सबै कैफियत सुधार लागी खाद्यले भनेको छ । खाद्यले लेबल लगाउने मेसिन १५ दिन भित्र समेत सुधार नगरे फ्याक्ट्री सिल नै राख्ने बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button