सकियो जनतासँग जनप्रतिनिधि कार्यक्रम

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाले आइतबार सबै वडामा जनतासँग जनप्रतिनिधि कार्यक्रम सकेको छ । गाउँपालिकाले गत जेठ १ गते वडा नं. १ दुरागाउँबाट सुरु गरेको कार्यक्रम वडा नं. ७ तिल्पुङमा समापन गरेको छ । वडावडामा पुगेर नागरिकको समस्याका पोका र सुझाव बटुल्दै हिँडेका गाउँपालिकाका अध्यक्ष केशव महतले ती सबै समस्याका समाधान र सुझाव सहितको आगामी नीति तथा कार्यक्रम बन्ने बताए । उनले भने– म जनताको समस्या र सुझाव लिँदै उत्पादनमुखी बजेट कसरी ल्याउन सकिन्छ भनेर सिक्न हिँडेको हो ।
अन्य ६ वटा वडामा जस्तै पालिकाका शाखा प्रमुखहरूले यो आर्थिक वर्षको वैशाख अन्तिम सम्मको प्रगति विवरण नागरिक सामु राखे । वडाका नागरिकहरूले कृषि, पशु, स्वास्थ्य, शिक्षा तथा विकास निर्माणका विषयमा जिज्ञासा राखे । धेरै जसो नागरिकले साना टुक्रे योजना राख्दा विकास निर्माणमा खासै प्रगति नदेखिएको र साना टुक्रे योजनाका कारण पालिका धाउने मात्रै काम भएको बताए । उनीहरूले अब पालिकाले बजेट विनियोजन गर्दा अलि ठुलो बजेटका योजनालाई प्राथमिकता दिन सुझाव दिए
पालिकाले विगतमा अनुदानमा दिएका अनुदानहरू कस्तो अवस्थामा छ? यो बारेमा अनुगमन गर्न नागरिकहरूले सुझाए । उनीहरूले भने– अनुदान मात्रै बाँडेर भएन, अनुदानले कति उत्पादन दियो? अनुदानको सही सदुपयोग भएको छ की छैन ? यो बारेमा पनि गाउँपालिकाले सूक्ष्म अध्ययन गर्न जरुरी छ ।
नागरिकहरूको राय, सुझाव, गुनासो सुने पछि पालिका अध्यक्ष महतले आगामी दिनहरूमा धेरै भन्दा धेरै आलोचनात्मक सुझावको अपेक्षा गरेको बताए । उनले पालिकाले दिएको अनुदानलाई आफ्नो सम्पत्ति जस्तै ठानेर सुरक्षित राख्न आग्रह गरे। उनले भने – आफूले बनाएको काठको हलोलाई मतान भित्र राखेर पालिकाले दिएको अनुदानको ट्याक्टरलाई बाटोमा राख्ने प्रवृत्ति बन्द गर्नुस् । पालिकाले दिएको तपाईँको लागी हो, प्रयोग गर्नुस् ।
वडा नं. ७ का निर्वाचित जनप्रतिनिधिहरू कोही नहुनाले आफूलाई काम गर्न धेरै समस्या भएको कार्यवाहक वडाध्यक्ष कल्पना पाण्डेले बताइन् । उनले नागरिकको सवालको जवाफसँगै आफ्नो समस्या समेत पोखिन् । उनले भनिन् – एउटा सिफारिसका लागी राजनीतिक दबाब आउँछ । दबाबको बिचमा कसरी राम्ररी काम गर्नु ?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button