प्रेस युनियन रामेछापले लगायो पत्रकार महासंघमा ताला
रामेछाप । नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापले पत्रकार महासंघ रामेछापको भवनमा ताला लगाएको छ । मंगलबार पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्रीलाई मागसहित पत्र बुझाउँदै केन्द्रिय सदस्य रीता मगर, प्रदेश सदस्य कल्याण बुढाथोकी, अनिता मगर क्रियाशिल पत्रकारहरुको उपस्थितिमा युनियनले ताला लगाएको छ ।
यही जेठको २६ गते सम्म सबै जिल्ला र प्रदेश अधिवेशन सकेर केन्द्रीय अधिवेशन गर्ने मिति तोकेको महासंघको केन्द्रीय समितिले जिल्ला शाखासँग समन्वय र सहकार्य बिनै सदस्य टुङ्ग्याउने निर्णय गरेपछि अधिकांश जिल्लाले असन्तुष्टि जनाउदै आएका छन् ।
पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले सार्वजनिक गर्न लागेको ‘पत्रकार शुद्धीकरण’ कार्यक्रम अन्तर्गत जिल्ला शाखाबाट पठाएको नामावली बाहेकका सदस्यहरूको नाम राखिएको, जिल्लामा नभएको पत्रकारको नाम समावेस गरिएको, क्रियाशिल पत्रकारको नाम काटिएको, सांगाठानिक पूर्वाग्रहबाट सदस्यको नाम राखिएको लगायतका माग राखेर युनियनले मंगलबार मन्थली वि पि चोकमा रहेको कार्यालयको ‘मेन गेट’मा ताला लगाएको छ ।
ताला लगाउदै सचिव सागर बोहोराले निर्णय नसच्चिए सम्म महासंघका गतिविधि नगर्न जिल्ला शाखालाई आग्रह गरे । अध्यक्ष ज्ञानु श्रेष्ठले पनि सांगाठानिक पूर्वाग्रहबाट प्रेरित भएर नामावली आएको भन्दै उक्त निर्णय सच्याउन आग्रह गरिन् । युनियनले ताला लगाउर बुझाएको पत्र बुझ्दै महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्रीले युनियनको माग जायज र स्वभाविक मुद्दा अगाडि सारेकाले तत्काल केन्द्रलाई जानकारी गराउने प्रतिबद्धता जनाए ।
गत शनिवार प्रेस युनियन केन्द्रीय समितिले महासंघका केन्द्रीय अध्यक्ष र महासचिवको कार्यालयमा सोही विषयमा असन्तुष्टि जनाउँदै ताला लगाएका छन् ।