विश्व वातावरण दिवसमा वृक्षारोपण

रामेछाप । विश्व वातावरण दिवसको अवसरमा मन्थलीमा वृक्षारोपण गरिएको छ । डिभिजन बन कार्यालय, सानीमदौ सामुदायिक बन उपभोक्ता समिति, लक्ष्मी सनराइज बैङ्क लिमिटेड मन्थली, मन्थली मावि पूर्व विद्यार्थी समाज र लिटिल स्टार ईडलिस स्कुल मन्थलीले समेतले दिवसका अवसरमा वृक्षारोपण गरे ।
रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपाने, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा विभिन्न कार्यालय, सङ्घ संस्थाका प्रमुख र तिनका प्रतिनिधिहरू, वडा अध्यक्ष, विभिन्न संचार माध्यमका प्रतिनिधिहरू लगायतको उपस्थितिमा सानीमदौ खेल मैदान नजिकैको पाखामा विभिन्न प्रजातिको रुख रोपिएको थियो ।

लामो समय देखि आफ्ना उपभोक्ताहरू समेतलाई जागरूक बनाएर वृक्षारोपण र बनको संरक्षण गर्दे आएको सानीमदौ सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष कुमार सुवेदीले बताए । उक्त समितिका पूर्व अध्यक्ष युवराज सुवेदीले सानीमदौ सामुदायिक बनलाई नमुना बन बनाउने लक्ष्यका साथ आफूहरूले काम गरी रहेको बताए ।
रुख रोपेर मात्र आफ्नो जिम्मेवारी पुरा नहुने हुनाले अभियानलाई दिर्घजिवि बनाउनका लागि रुख जोगाउने काममा सबैले ईमान्दार पूर्वक लाग्न डिभिजन वन रामेछापका प्रमुख ओम सागर भण्डारी आग्रह गरे।
लक्ष्मी सनराईज बैङ्क लिमिटेडले सदरमुकाममा अवस्थित मन्थली माध्यमिक विद्यालयको हाता भित्र विभिन्न प्रकारका १सय ७ वटा फलफूलका बिरुवा रोपेको थियो । उक्त बैङ्कले उच्च जातको आँप, लिची,कटहर कपुर,धुपी लगायतका बिरुवाहरू रोपेको चुचुरे शाखाका प्रमुख रमेश सुवेदीले बताए । बैकले रोपेका सबै बिरुवामा नियमित पानी हाल्नका लागि विद्यालयलाई आवश्यक पाइप पनि उपलब्ध गराएको थियो ।
कार्यक्रममा डिभिजन वन कार्यालय, रामेछापका प्रमुख ओमसागर भण्डारी, मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक प्रसाद दाहाल, पूर्व प्रधानाध्यापक एवं शिक्षाविद् गुञ्ज बहादुर श्रेष्ठ , नेपाल पत्रकार महासङ्घ रामेछाप जिल्लाका अध्यक्ष बद्री नयाँघरे, लगायतले वृक्षारोपण तथा विश्व वातावरण दिवसलाई सही ढङ्गले व्यवहारमा उतार्नका लागि आग्रह गरेका थिए ।
खाँडादेवी गाउँपालिकामा वृक्षारोपण तथा अन्तरक्रिया
दिवसका अवसरमा खाँडादेवी गाउँपालिकामा वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) र खाँडादेवी गाउँपालिका गाउँ युवा परिषद्को संयुक्त आयोजनामा खाँडादेवी गाउँपालिका–५ को गोगनपानी गुम्बा आसपासमा वृक्षारोपण गरिएको छ भने पालिकामा वातावरण संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले वातावरण प्रदूषणबाट मानव जीवनमा असर पर्दै आएकाले अब सबै एकजुट भएर वातावरण संरक्षणमा लाग्नुपर्ने बताए । गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङले वातावरण संरक्षणका लागि सबै सचेत हुन आवश्यक रहेको बताईन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button