छानो टाल्न स्थानीय सरकार गुहार्दै मधु

रामेछाप । आफ्नो घरको छानो हुरिले उडाए पछि छानो टालिदिन आग्रह गर्दै मधु गिरि मन्थली नगरपालिका आई पुगिन् । खरले छाएको एउटा कच्ची घर । त्यही घरको छानो पनि हावाहुरीले उडाए पछि मन्थली नगरपालिका ९ पुराना गाउकी मधु गिरी घरको छानो माग्न मन्थली नगरपालिका पुगेकी हुन ।
कमाउने श्रीमान बिरामी छन् । छोराछोरी सानै छन । घरको आधा छानो छैन । खरले छाएको छानो आधा उडाएको छ । पानी पर्दा दिनरात भन्न पाईदैन । रातभर सुत्न पाईदैन । हामी सबै जना त्रिपाल समात्छौँ । त्रीपालमा जमेको पानी आमाले फाल्नु हुन्छ । पानी आएको रात सुत्न पाउदैनौं । त्यही घरमा हामीले बाख्रा पनि राख्ने गरेका छौँ । छोरी सिर्जाना गिरिले भनिन् ।
घरको छानो हुरिले उडायो । घरमा कमाउने कोही छैनन् । ५ जना बालबच्चाको जिम्मेवारी, घरको छानो उदाङ्गो छ । त्यसैले सरकारले मेरो घरको छानो टालिदिन्छ की भनेर नगरपालिका आएको हुँ । मधु गिरिले भनिन् । आफ्नो भएको खेतमा ३० पाथी धान फल्छ । त् धानले एक महिना खान पुग्दैन । घर कुन समय लड्ने हो पत्ता छैन। हावा लाग्दा बाहिर लुके पनि पानी आउँदा त्रीपाल बोकेर बस्नुपर्छ । आँखाभारी आँसु पार्दै गिरीले भनिन् ।
मधु गिरिको दुखेसो सुने पछि उनको घरको अवस्था हेर्न मन्थली नगरपालिका बाट उप–प्रमुख इश्वरी बस्नेत र कानुनी सल्लाहकार सुदर्शन राय गिरीको घरमा पुगे । उनको घरमा पुग्दा अवस्था नाजुक रहेको उपप्रमुख बस्नेतले बताइन् ।
मधु गिरिको यो अवस्थामा मन्थली नगरपालिकाले सहयोग गर्ने भएको छ। नगरपालिकाकी उप–प्रमुख बस्नेतले गिरिको घरको छानो छाउन जस्ता दिने प्रतिबद्धता गरेकी छिन् ।
नगरपालिकाले छानो छाउन जस्ता दिने भए पनि त्यो छानो छाउन लाग्ने अरु खर्च कसरी जोहो गर्ने भन्ने चिन्तामा छिन् मधु गिरि ।