शैलुङ विकासको बाधक एमाले हो ः अध्यक्ष मोक्तान

रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा पर्ने शैलुङको विकासमा एमाले बाधक बनेको पालिका अध्यक्ष मैन कुमार मोक्तानले बताए । अध्यक्ष मोक्तानले भने– शैलुङको खोला खर्कमा पालिकाले ३ वटा ४ कोठे दुइतले भवन निर्माण गर्न बजेट विनियोजन गरेको थियो । पालिकाको पर्यटकीय विकासका लागी त्यो भवन वरदान साबित हुने थियो । तर सम्बन्धित वडाका वडा अध्यक्षका कारण पालिकाको पर्यटकीय विकासमा बाधा पुग्यो ।
मोक्तानले भने– बजेट विनियोजन गर्दा कार्यपालिकाले स्विकारेको बजेट, टेन्डर खोली सम्झौता गरिसकेको अवस्थामा १ नं. वडाका अध्यक्ष प्रेम तामाङले विरोध गर्दै बिज्ञप्ती निकाल्नु भयो । वडा अध्यक्षले राजनीतिक आग्रह पूर्वाग्रह राखेर पालिकाको गौरवको योजनालाई विफल बनाए ।
दोरम्बाको शैलुङ हाम्रो पालिकाको मात्र होइन, रामेछापको सम्पत्ति हो । अहिले शैलुङ घुम्न आउने पर्यटकका लागी रातमा बस्ने ठाउँ छैन, पर्यटकलाई एकरात रोकौँ, पर्यटनको विकास गरौँ, कम्तीमा आन्तरिक तथा बाह्य पर्यटक आउँदा बस्ने ठाउँ हुन्छ । आफ्नो वडामा बजेट आउँदा, वडामा पूर्वाधार निर्माण हुँदा वडा अध्यक्ष ज्यू खुसी हुनुपर्ने हो । तर उहाँ बजेट विनियोजन गर्दा मौन हुनु भयो, सहमति जनाउनु भयो । एक्कासि बिज्ञप्ती निकाल्नु भयो। पालिका अध्यक्ष मोक्तानले भने ।
उनले भने – १ नम्बरका वडाका अध्यक्ष ज्यूले बजेट विनियोजन पछाडि फिल्ड भिजिट पनि गर्नु भएको थियो । प्राविधिक स्टमेट बनाउँदा समेत उहाँ सँगै हुनुहुन्थ्यो । अन्तिममा अनभिज्ञ हुने ढोँग रच्नु भयो उहाँले । उनले भने ।
पाहुना घर बनाउन टेन्डर समेत निकालियो । टेन्डर निकालेर ठेकेदार कम्पनी छनौट गरेर सम्झौता पनि गरियो । तर वडा अध्यक्ष ज्युको विरोध मुलुक विज्ञप्ति आयो । पालिकाले त्यो टेन्डरको सम्झौता तोड्न बाध्य भयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश महतोले भने । उनले भने – विवाद आएपछि हामीले काम गर्न सकेनौँ। हामी कर्मचारी हौँ, जनप्रतिनिधिले नै विरोध गर्नुहुन्छ भने काम रोक्छौँ । विरोध बिच हामी काम गर्न सक्दैनौँ । जनप्रतिनिधिले गरेको विरोधको जवाफ जनतालाई जनप्रतिनिधिले नै दिने हो । जनप्रतिनिधिले त विरोध मिलाउनुपर्ने हो, यदि उहाँहरूले नै विरोध गर्नुहुन्छ भने हामी केही भन्दैनौ ।