काम नै नगरी ७१ लाख ३५ हजार भुत्तानी
रामेछाप । पुष्पलाल (मध्यपहाडी) मार्ग आयोजना अन्तर्गतको सेलेघाट नजिक त्रिवेणी मन्दिरको छेउमा निर्माणाधीन तामाकोसी पुल निर्माण कम्पनीले आयोजना सँग ७१ लाख ३५हजार रुपैयाँ पेस्की बापतको रकम काम नै नगरी लगिसकेको जानकारी प्राप्त भएको छ । पेस्की लगे पछि पनि काम नभएपछि निर्माण कम्पनीलाई ताकेता पत्र पठाइ सम्बन्धित कार्यक्षेत्रमा पठाइएको पनि आयोजनाका सूचना अधिकारी हर्क बहादुर प्रधानले बताए ।
पुष्पलाल (मध्यपहाडी) मार्ग आयोजना अन्तर्गतको सेलेघाट नजिक त्रिवेणी मन्दिरको छेउमा निर्माणाधीन तामाकोसी पुल निर्माणका कार्य छुटेको १ वर्ष पछि पुन सुरु भएको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारणले उक्त पुल निर्माण अलपत्र परेको थियो । यस अघि २०७७ देखि २०७९ साल सम्म निर्माण कम्पनीले पुल निर्माणका लागि केही काम सुरु गरेको भएपनि त्यसलाई तदारुकताका साथ काम नगर्दा कामका लागि ल्याइएका रड र मेसिनहरूमा खिया लागिसकेका थिए ।
गन्तव्य टुडेले समाचारहरू प्रकाशन गरेपछि निर्माण व्यवसायीले म्याद थप गराई खिया लागेका रड परीक्षण गर्न काठमाडौँ लगिएको बताइएको छ ।
२०८० असार २६ गते काम सम्पन्न गर्ने गरी कालिका प्यासिफिक जेभीले २०७७ असार २६ गते पुल निर्माणका लागि सम्झौता गरेको थियो ।
लामो समय सम्म पनि पुल निर्माण कार्य सम्पन्न नहुँदा यहाँका स्थानीयहरू आक्रोशित बनेका स्थानीय बलवीर (नवराज) माझीले बताए ।
उक्त कम्पनीले १४ करोड २७ लाखमा निर्माण कार्य सक्ने गरी सम्झौता गरेको भएपनि म्याद सकिएको १ बर्ष हुन लाग्दा बल्ल भने ठेकेदारले चासो दिएर खिया लागेका रडहरू परीक्षणका लागि लगेको मध्यपहाडि लोकमार्गका सूचना अधिकारीले बताए । उनले ठेकेदार कम्पनीको लापर्वाहिका कारण यस्तो हुन गएको पनि बताए ।