दावाले फाँडे सिद्धनाथ सामुदायिक वन

रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको वडा नं. ४ मा रहेको सिद्धनाथ सामुदायिक वनमा अवैध रूपमा रुख काटिएको पाइएको छ । सिद्धनाथ सामुदायिक वनका अध्यक्ष प्रेम मगरका अनुसार बनमा धेरै प्रजातिका रुखहरू मनोमानी ढङ्गले काटिएको हो ।
नीति नियम जानेका मान्छेले नै यसरी जङ्गल फडानी गर्नु दण्डनीय भएको अध्यक्ष मगर बताउँछन् । उनी भन्छन्– दोरम्बा शैलुङ गाउँपालिका वडा नं.१ मा पर्ने कालिन्चोक सामुदायिक वनका अध्यक्ष दावा साङ्बु शेर्पा स्वयमले सिद्धनाथ सामुदायिक वनका रुखहरू काटेका हुन् । उनले सिद्धनाथ सामुदायिक वनको १३ वटा बढी रुख फडानी गरेका छन् ।
यता डिभिजन वन कार्यालयले भने यसको बारेमा खासै चासो देखाएको छैन । डिभिजन बनलाई यो बारेमा जानकारी नै नभएको बताएको छ । सव डिभिजन वन कार्यालय दोरम्बाले वन रक्षक उमेश घलानलाई पठाई कति रुख काटिए भन्ने नै नलेखी विवरणको ठाउँमा खालि राखेर मुचुल्का तयार पार्ने खोजेको पाइएको छ । घटनाको विवरण हेर्दा वन कार्यालय आफै छलछाम गर्दै बसेको प्रष्ट देखिन्छ ।
कति रुख काटिए भन्ने नै नलेखी विवरणको ठाउँमा खालि राखेर मुचुल्कामा हस्ताक्षर गराउन लगाए पछि आफूले मुचुल्कामा हस्ताक्षर नगरेको वडा नं. ४ का वडा सदस्य हरि मगर बताउँछन् । झुटो विवरण मैले कसरी प्रमाणित गर्ने ? कति रुख काटिए भन्ने नै नलेखी विवरणको ठाउँमा खालि राखेको मुचुल्कामा कसले हस्ताक्षर गर्छ ? दोरम्बा सब डिभिजन वनले फडानी भएको रुखको सङ्ख्या किटान गरेको छैन । करिब १३ वटा रुख काटिएको छ त्यहाँ – वडा सदस्य मगरले भने ।
दोरम्बा शैलुङ सब डिभिजन वन कार्यालय समेत हेर्ने मन्थली सब डिभिजन वन कार्यालयका प्रमुख सहयोग क्षेत्री भने जङ्गल फडानी भएको बारे कसैको जाहेरी नआएको बताउँछन् । उनी भन्छन्– जाहेरी नआएसम्म कारबाहीको प्रक्रिया अगाडि बढ्दैन । प्रक्रिया अगाडि बढाउन हामीले कर्मचारी खटाएका छौँ । वडा सदस्य हरि मगरले मुचुल्कामा हस्ताक्षर नगर्दा कामकारबाही अगाडी बढाउन सकिएको छैन ।
कालिन्चोक सामुदायिक वनका अध्यक्ष दावा साङ्बु शेर्पा स्वयम् आफूले जङ्गलका रुखहरू काटेको स्विकार्छन् । उनी भन्छन् –हामीले शैलुङ खोला पर्यटन प्रवर्द्धन समिति द्वारा खानेपानीको योजनामा काम गरिरहेका थियौँ । त्यही योजनाका लागी चाहिने काठहरू काटेका हौँ । खानेपानी ट्रयांकीको फर्माको लागी रुख काटेको हो । त्यहाँको रुख काटेर हामीले घर लगेका हैनौँ ।
स्मरण रहोस् शैलुङ खोला पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष समेत दावा साङ्बु शेर्पा हुन् । कालिन्चोक सामुदायिक वनको धेरै समय देखि अडिट नभएको र लामो समय देखि दावा साङ्बु शेर्पा अध्यक्ष भएरै बसेको नागरिकको गुनासो समेत छ ।