पर्यटन प्रवर्द्धनका लागी हाकाहाकी बहस

रामेछाप । बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति समेत रहेका सांसद आनन्द श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र अहिले शिथिल अवस्थामा रहेको आर्थिक विकासका लागि काँग्रेस र एमाले गठबन्धन निर्माण भएको बताए ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल जिल्ला शाखा रामेछापको प्रथम वार्षिक उत्सवमा शनिवार आयोजित मन्थली नगरपालिकाको पर्यटन प्रवर्द्धन विषयक बहस पैरवी कार्यक्रममा उनले भने – मुलुकमा अहिले देखिएका तमाम समस्याहरूको समाधान गर्दै नागरिकको चाहाना अनुसारका काम गर्न यो गठबन्धन बनेको हो । अहिलेको सरकारका विरुद्धमा रहेकाहरूले अनेक हल्ला चलाएर जनतामा गलत सन्देश प्रवाह गरिरहेको उनको आरोप छ ।
सांसद श्रेष्ठले मन्थली नगरपालिका पर्यटन विकासका लागि ठुलो सम्भावना बोकेको नगरपालिका भएकाले यहाँको पर्यटन विकासका लागि हरदम लागी पर्ने प्रतिबद्धता गरे । उनले मन्थली विमान स्थलबाट वर्षमा दुई सिजनमा भइरहेको लुक्ला उडानलाई थप व्यवस्थित बनाउन र मन्थली–काठमाडौँ नियमित उडानको व्यवस्था गर्न पहल गर्ने बताए ।
मन्थली नगरपालिका रामेछाप जिल्लाकै ठुलो पर्यटकीय सम्भावना बोकेका नगर भएको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताए । उनले सरोकारवाला निकायसँग आवश्यक बहस, छलफल र सुझावहरू लिएर नगरपालिकाले पर्यटन विकासका लागि पूर्वाधार निर्माण लगायतका अन्य कामहरू पनि गरिरहेको बताए । नगरपालिकाभित्र पर्यटक आवागमन बढाउन सम्भावना बोकेका धार्मिक तथा पर्यटकीय स्थलहरूमा सम्भाव्यता अध्ययन गरी आवश्यक पूर्वाधार निर्माण गर्दै जाने नगरको योजना रहेको उनले बताए ।
कार्यक्रममा मन्थलीको होटेल व्यवस्थापन, एयरपोर्टको समस्या, आन्तरिक तथा बाह्य पर्यटक आउँदा उनीहरूले पाउने सेवा सुविधा लगायतका बारेमा उपस्थितहरूले प्रश्न राखेका थिए । जबाफदेही वक्ताको रूपमा होटेल व्यवसायी सङ्घ, रामेछाप उद्योग वाणिज्य सङ्घ, पत्रकार महासङ्घ, जिल्ला प्रशासन, नागरिक उड्डयन लगायतको उपस्थिति थियो । बहस कार्यक्रमको सहजीकरण पत्रकार नवराज श्रेष्ठले गरेका थिए भने मन्थली नगरपालिकाको केही पर्यटकीय स्थानको फोटो सहितको प्रदर्शन समूह रामेछापका अध्यक्ष मिलन घिमिरेले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button