Trending

रामेछाप नगरपालिकाको ३ नम्बर वडा भ्रष्टाचारको अखडा बन्दै

रामेछाप । रामेछाप नगरपालिकाको ३ नम्बर वडा कार्यालय साँघुटार भ्रष्टाचारको अखडा बन्दै गएको छ । नीतिगत रुपमा नागरिकको सेवा र समग्र वडाको विकास गर्ने सपथ खाएका जननिर्वाचित प्रतिनिधिहरुले स्वेच्छाचारितालाई केन्द्रमा राखेर काम गर्दै जाँदा वडा कार्यालयमा भ्रष्टाचार मौलाउँदै गएको हो । दीर्घकालीन सोच र नतिजामुखी बजेट तथा योजना तर्जुमा गर्नु पर्नेमा त्यसो नगरी आयोजनाको काम अघि बढाउँदा वडामा अहिले विकास भन्दा पनि बेथिति बढी देखिएको छ । वडाले विगतमा सञ्चालन गरेका आयोजनाको अवस्था र प्रगतिलाई नियाल्ने हो भने गुणस्तरहीन आयोजनाको निर्माण, कामै नभएका आयोजनाको भुक्तानी लिने, एकै आर्थिक वर्षमा बजेटको दोहोरोपनालाई ख्याल नगरी बजेट विनियोजन गर्नेसम्मको गलत खालका भ्रष्टाचारजन्य गतिविधि प्रशस्त देखिन्छन् ।
५० हजारको योजनाः सचिवको नाममा ४७ हजार २८० भुक्तानी, काम गर्नेलाई २० हजार
प्राविधिक मूल्याङ्कनअनुसार आयोजनाको सबै रकम भुक्तानी हुन नसक्ने भनेर काम गर्नेलाई झुक्याएको वडा कार्यालयले योजनाको सबै रकम भुक्तानी लिएर काम गर्नेलाई २० हजार रुपैयाँ मात्रै दिएको पाइएको छ । गत आर्थिक वर्ष २०८०।८१ मा रामेछाप नगरपालिकाबाट ३ नम्बर वडा कार्यालय साँघुटारको लागि स्वीकृत कार्यक्रम वाँकिमैरी सुवेदी टोल खानेपानीका लागि नेपाल सरकारको नगद अनुदानतर्फको ५० हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट सिँधै सचिवले योजनाको भुक्तानी लिएर नगद हस्तान्तरण गर्ने सहमतिमा स्थानीय बलबहादुर वि.क.ले योजनाको ट्याङ्की निर्माणको काम गरेका थिए । ५० हजारको आयोजना भनेर काम गरेका वि.क.ले पछि कामदारको हाजिरासमेत नपुग्ने गरी २० हजार रुपैयाँ मात्रै पैसा पाए । काम सकेर भुक्तानी रकम लिन वडा कार्यालय पुगेका वि.क.ले वडा अध्यक्ष र सचिवलाई भेटेर कुरा गर्दा प्राविधिक मुल्याङ्कनअनुसार कम रकम पाउने थाहा पाए । त्यसपछि वि.क.ले यति पैसाले कामदारको ज्यालासमेट पुग्दैन भनेर वडा अध्यक्ष र सचिवलाई जानकारी गराउँदै आयोजनाको पूरै रकम भुक्तानीको माग दाबी गरेको बताए । तर वडा अध्यक्ष दलबहादुर प्रधान र वडा सचिव सुजन थापाले प्राविधिक मूल्याङ्कनअनुसार २० हजार रुपैयाँ मात्रै भुक्तानी आउने र बाँकी रकम फ्रिज जाने जानकारी गराएको स्थानीय बल बहादुर वि.क.ले बताए । यसरी २० हजार रुपैयाँ मात्रै भुक्तानी आउने र आयोजनाको बाँकी रकम फ्रिज हुने बताएका वडा अध्यक्ष प्रधान र वडा सचिव थापाले ४७ हजार २ सय ८० रुपैयाँ भुक्तानी लिएको खुलेको छ । यस विषयमा वडा अध्यक्ष र सचिवसँग बुझ्दा उनीहरुले पनि आयोजनाको २० हजार रुपैयाँ मात्रै भुक्तानी लिएको र बाँकी रकम फ्रिज भएको बताएका थिए ।
वडा अध्यक्ष प्रधानले भने,‘ इन्टेकको मात्रै पैसा १५।२० हजार निस्क्यो, त्यही पैसा उहाँहरुलाई भुक्तानी भयो, पैसा भुक्तानी २० हजार मात्रै हो ।’ सबै पैसा भुक्तानी लिनु भएको रहेछ नि भेनर गरिएको प्रश्नमा अध्यक्ष प्रधानले पाइपको खरिदको बिल पेश गरेर सबै पैसा भुक्तानी लिइएको बताए । वडा अध्यक्ष प्रधानकाअनुसार पाईप खरिद नै नगरीे बिल पेश गरेर भुक्तानी लिइएको समेत खुलेको छ । ‘पाइप लगभग १९ हजार पाइपको बिल गरेको होला, त्यसबाट कति पाइप छ हेर्नुपर्छ । बढी लिए पनि तपाईको चाइने यहाँ आएर हेर्न सक्नुहुन्छ, वडा समितिले निर्णय गरेको छ, उनँले भने ।’
यस्तै, २० हजार रुपैयाँ मात्रै भुक्तानी भएको र बाँकी बजेट फ्रिज भएको बताएका वडा सचिव सुजन थापाले पनि हालसम्म पाइप खरिद नभएको बताए । उनले भने, ‘हामीले साँढे २० जतिको बिल गरेको थ्यो, काम गर्नेले बिस हजार रुपैयाँ लगिसक्नुभयो । बाँकी पैसा त गयो, फ्रिज भयो ।’
यता रामेछाप नगरपालिकाका योजना अधिकृत नारायण कार्कीले भने उक्त आयोजनाको ४७ हजार २ सय ८० रुपैयाँ भुक्तानी भएको बताउनुभयो ।
कामै नभएको योजनामा भुक्तानी
आर्थिक वर्ष २०७९।८० मा रामेछाप नगरपालिकाले ३ नम्बर वडा साँघुटार अन्तर्गतका विभिन्न खानेपानी आयोजनालाई लक्षित गरी १ लाख रुपैयाँ बजेट भुक्तानी दिएको थियो । आर्थिक वर्ष २०७९।८० को असार मसान्तमा पाइप खरिदको लागि बिलसहितको आवश्यक कागजात पेश गरी भुक्तानी लिएको पाइएको छ । तर हालसम्म पाइप खरिद गरेका छैनन् । पाइप खरिद गरेको भनेर ददिराम सुबेदीले बिल पेश गरेर बजेट भुक्तानी लिएको हो तर हालसम्म पाइप खरिद नभएको वडा अध्यक्ष प्रधानले बताए । उनले भने,‘पाइपको लागि बिल पेश गरे, बख्रेल हार्डवयरमा पैसा भुत्तानी भयो, त्यो पैसा ददिरामले लग्यो कि ? मैले पनि त्यो पाइप किन नहालेको काजी भनेर अस्ति पनि भने । दाई पाइप हाल्छु अस्ति पनि भन्थे । त्यो पाइप अहिलेसम्म हालेका छैनन् । त्यो ददिरामले हाल्नुपर्ने हो, ददिरामको नामबाट बख्रेल हार्डवयरमा आको हो भुक्तानी ।’ तर ददिराम सुबदीले भने त्यो विषय आफूसँग नजोडिएको बताए ।
एकै आर्थिक वर्षः एउटै योजनामा दोहोरो बजेट
गत आर्थिक वर्ष २०८०।८१ को बागमती प्रदेश सरकारको स्वीकृत बजेट तथा कार्यक्रमबाट ३ नम्बर वडा कार्यालय साँघुटारमा सडक नै नभएको ठाउँमा ‘कुमालटार पटेर खोला हुँदै बाँकिमेरीको घाटसम्मको सडक स्तरोन्नति’ योजनाको लागि २३ लाख ९९ हजार ९ सय ३४ रुपैयाँ बजेट विनियोजन भएको थियो । बजेटको दोहोरोपनालाई समेत ख्याल नगरी सोही आयोजनामा वडा समितिले निर्णय नै गरेर ९९ हजार रुपैयाँ बजेट हालेको थियो । जानकारहरुका अनुसार नीतिगत रुपमा यो पनि एक किसिमको भ्रष्टाचार नै हो ।
यता रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपाने र प्रमुख प्रशासकीय अधिृकत मित्रप्रसाद घिमिरेले भने त्यस खालका गतिविधि भएको भए गलत हुने बताए । यस बारे आफूहरुले थप बुझ्ने उनिहरुले बताए ।
यसैगरी जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेले भने हालसम्म त्यसबारे कुनै उजुरी नआएको र तथ्य, प्रमाणसहित उजुरी परेमा छानबिन हुने र गलत साबित भए कारबाही गरिने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button