नीति र विधि भन्दा माथि हुन् ट्राफिक प्रहरी ?
रामेछाप । ३ जना ट्राफिक प्रहरी मङ्गलवार जिल्लाको मन्थली नगरपालिका वडा नं. १ को देवकोटा चोकमा सवारी व्यवस्था मिलाउन खटिएका हुन सक्छन् । सडकपेटीमा मोटरसाइकल रोकेर बसिरहेका ती ट्राफिकहरू मध्येका एक ट्राफिक सानका साथ सोही मोटरसाइकलमा फिल्मी शैलीमा बसिरहेका थिए । अरू २ जना ’हिरो’ सँग कुरामा कुरा थप्दै यताउता हेर्दै सिट्ठी फुक्दै थिए ।
उनीहरूको बसाई र काम गराई देख्दा देवकोटा चोकको सडक र सडकपेटी सबै उनीहरूकै हो भन्ने प्रष्ट हुन्थ्यो । ती ट्राफिक प्रहरीले घण्टौँ सम्म त्यही सडक पेटीमा मोटरसाइकल रोके । वरपर रोकिने मोटर साइकल तथा अन्य सवारी साधनलाई सिट्ठी फुके, रोक्न दिएनन् । उनीहरूले पैदलयात्रु हिँड्ने बाटोमा आफ्नो सवारीसाधन राखे पछि पैदल यात्रु गाडी गुड्ने सडकैबाट हिँडे ।
सर्वसाधारणले एकै छिन मोटरसाइकल रोकेर सामान किन्न पसल जाँदा, बैङ्क बन्द हुनै लाग्दा हतारमा मोटरसाइकल रोकेर जाँदा उनीहरूको सवारी साधनमा ह्वीललक लगाउँछन् ट्राफिक प्रहरी । ह्वीललक मात्रै हैन मौका परे १ हजार सम्मको चिर्कटो समेत थमाई दिन्छन् । आफू भने मन्थलीको मुख्य चोकमा नै ’दबङ्ग’ बनेर नीति र विधिको धज्जी उडाउनु नैतिकताले दिन्छ? यो त पद र पावरको सिधासिधि दुरुपयोग भएन ?
ट्राफिक प्रहरीले सोही दिन मात्रै मोटरसाइकल पैदलयात्रु हिँड्ने ठाउँमा पार्किङ गरेका होलान् भनेर त्यही नजिकैको व्यापारीहरूलाई हामीले सोध्यौँ पनि । तर ती व्यापारीहरूले भने– के एक दिन हुन्थ्यो? यहाँ त ट्राफिकको बाईक पार्किङ गर्ने ठाउँ नै हो । सधैँ यही रोकेर बस्छन् उनीहरू । उनीहरूले अझै बिस्तारै बोले र भने, हाम्रो नाम चाहिँ नलेख्दिनु नि, फेरी हामीलाई सामान झार्न नै दिँदैनन् ।
सडकको पेटीमा ट्राफिक प्रहरीले मोटरसाइकल राखेको कारण सडकबाटै हिँड्न परेको सुनापती घर बताउने सानुमाया तामाङले भनिन् । उनले भनिन्– मानिस हिँड्ने बाटोमा मोटरसाइकल रोकेर राख्नु भएको छ, अब सडकबाटै नहिँडेर कहाँबाट हिँड्नु ? सडकबाट हिँड्नु असुरक्षित भए पनि ट्राफिक प्रहरीले मोटरसाइकल रोकेको कारणले सडकबाटै हिँडेको उनले बताइन् ।
पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरेले ट्राफिक प्रहरीको यो हर्कत गलत भएको बताए । उनले भने– ट्राफिक प्रहरी पनि नागरिक हुन् । यो देशको एउटा साधारण नागरिकले जति अधिकार पाउँछन् त्यति मात्र उनीहरूले पाउनेहुन् । देवकोटा चोक जस्तो मुख्य सडकको पेटीमा नीति नियम सिकाउनेले नै नीति नियम मिच्नु अस्वाभाविक हो । ट्राफिक प्रहरीले आफू सर्वेसर्वा हो भन्ने भ्रमबाट ब्युँझिएर सच्चिनु पर्छ ।
ट्राफिक प्रहरीले पैदल यात्रु हिँड्ने ठाउँमा मोटरसाइकल रोकेर बस्न पाउँछन् त भन्ने सवालमा रामेछाप ट्राफिक प्रहरी प्रमुख दीपक चौलागाँईले आफूलाई यो बारेमा जानकारी नभएको बताए। उनले भने, त्यस्तो त होईन होला, त्यसो त नगर्नु पर्ने, म बुझ्नु नि त ।
सडकमा सवारीचालकले नियम उल्लङ्घन गरे कारबाही गर्ने निकाय ट्राफिक प्रहरी हो । ट्राफिक चिन्हअनुसार सवारी नचलाउने वा नियमविपरित सवारीसाधन चलाउनेहरू ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गर्छन् । सर्वसाधारणले मोटरसाइकल रोक्न नपाउने ठाउँमा ट्राफिक प्रहरीले रोक्न पाउने हो? ट्राफिक प्रहरीलाई चाहिँ कुनै नीति नियम लाग्दैन? ट्राफिक प्रहरी यो नीति नियम भन्दा माथि हुन् ?
मन्थलीका मुख्य बजार क्षेत्रमा ठुलाठुला मालवाहक गाडीहरूले, यात्रुवाहक सवारीले लाइन लागेर सामान लोडअनलोड गर्दा नदेखे झै छलिएर हिँड्ने ट्राफिक प्रहरीले अन्य सर्वसाधारणलाई सौताका छोराछोरीको व्यवहार गर्नु पनि ट्राफिक प्रहरीको नीति नियम भित्र त पक्कै पर्दैननै होला ।