देउवा बन्दै सुदूरपश्चिमका मुख्यमन्त्री

काठमाडाैं। सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसबाट प्रकाशबहादुर देउवाकाे नाम अगाडि सारिएको छ । भोलि (शुक्रबार) दिउँसो २ बजे बस्ने संसदीय दलको बैठकले दलको नेता टुंगो लगाउने र नेता देउवालाई बनाउने तयारी रहेको एकजना प्रदेशसभा सदस्यले बताए । केन्द्रमा सहमति भइसकेकाले पूर्व मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाएर प्रकाश देउवालाई पठाउने तयारी गरिएको बताइएको छ । देउवा सुदूरपपश्चिम सरकारको पूर्व भौतिक पूर्वाधार विकास मन्त्री हुन् । उनको पक्षमा बहुमत सदस्यहरू हुने दाबी भएकाले सकभर सहमतिमै दलको नेता छान्ने तयारी भएको छ । कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह, पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, बहादुर सिंह थापा र दिवान सिंह विष्ट मुख्यमन्त्रीको दौडमा छन् । नेपाली कांग्रेस र एमालेको नयाँ सत्ता समीकरणमा सुदूरपश्चिमको मुख्यमन्त्रीको पद कांग्रेसको भागमा परेको थियो । सुदूरपश्चिममा नेपाली कांग्रेसबाट १८ जना प्रदेश सभा सदस्यहरू रहेका छन् भने एमालेका ११ जना प्रदेश सभा सदस्यहरू छन्। सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्य आवश्यक पर्छन् । कांग्रेस र एमालेसँग मात्र २९ जना प्रदेश सभा सदस्यहरू छन् । उता नागरिक उन्मुक्ति पार्टी(नाउपा)का सात जना प्रदेश सभा सदस्यहरू छन् । नाउपाले कांग्रेस–एमालेसँगै सरकारमा जाने वा प्रतिपक्षमा बस्ने कुनै निर्णय गरेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button