मनमर्जी कर असुली प्रतिवेदन विरुद्ध डेलिकेशन

रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले अस्वाभाविक रूपमा ‘घर बहाल कर’ बढाउने गरी प्रतिवेदन तयार पारेको प्रतिवेदन सार्वजनिक भए पछि घरधनीहरूले विरोध जनाउँदै नगरको ध्यानाकर्षण गरेका छन् । बिहीबार मन्थली नगरपालिका वडा नं १ स्थित देवकोटा चोक टोल विकास समितिका अध्यक्ष सुरेश उदासको नेतृत्वमा बजारका घरधनीहरूले नगरपालिकामा डेलिकेशन जाँदै निर्णय सच्याउन चेतावनी दिए ।
बजार क्षेत्रका घरधनी र व्यवसायीहरुसंग समेत छलफल नै नगरी प्रतिवेदन तयार पारेर नगरले एकलौटी रूपमा घर बहाल कर लागू गर्ने प्रतिवेदन सार्वजनिक भए पछि आफूहरूलाई मान्य नहुने भन्दै उक्त निर्णय तत्काल सच्याउन नगरपालिकामा ‘डेलिगेसन’ गएको व्यवसायी एवं देवकोटा चोक टोल सुधार समितिका अध्यक्ष उदासले बताए ।
नगरका वरिष्ठ शाखा अधिकृत दीपक सुवेदीको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले नगरपालिका क्षेत्रभित्रका घर, पसल, गोदाम, कारखाना, टहरा, छाप्रा, र जग्गाको समेत वर्गीकरण गरेर (‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’) कर निर्धारण गरेको प्रतिवेदन सार्वजनिक भएको थियो ।
उक्त प्रतिवेदन आर्थिक मन्दीमा परेका भाडामा बसेका व्यापार, व्यवसायी र घरधनीलाई समेत मारमा पार्ने गरी आएको जिकिर गर्दै तत्काल निर्णय सच्याउन माग गर्दै घरधनीहरूले अघोषित आन्दोलन गरेका हुन् ।
देवकोटा चोकमा भेला भएर असन्तुष्टि जनाएका व्यवसायी र घरधनीहरूले राज्यले आफ्नो सम्पत्तिको मूल्य तोकेर ताना शाही प्रवृत्ति देखाएको आरोप समेत लगाए ।
घरधनी कृष्ण बस्नेतले देवकोटा चोकका १÷२ वटा घरलाई हेरेर भाडा निर्धारण गरेको भन्दै स्थानीय सरकारले मनलाग्दी कर मात्रै उठाउन खोज्ने तर जनताको पक्षमा कुनै काम नगर्ने भनेर आक्रोश पोखे । उनले जनता लुट्ने सङ्घीयता नै खारेज गर्नु पर्ने भन्दै ‘हाम्रो सम्पत्तिको मूल्य तोक्ने अधिकार सरकारलाई कसले दियो भन्दै प्रश्न गरे ।’
बजारका अधिकांश घरबेटी र व्यवसायीसहितको भिड नगरपालिका पुगेपछि नगरप्रमुख लव श्रेष्ठले सार्वजनिक भएको प्रतिवेदन संशोधन गरेर लागू गर्ने बचन दिएको अध्यक्ष उदासले बताए ।
घर बहाल कर बारे प्रतिवेदन कर्मचारीले मनोमर्जी गरेको आरोप छ । सम्बन्धित कुनै पनि पक्ष सँग कुनै पनि सरसल्लाह नगरी मन्थली नगरपालिकाले घर बहाल करबारे प्रतिवेदन सार्वजनिक गरेको प्रष्ठ देखिन्छ । सार्वजनिक प्रतिवेदन देख्दा मन्थली नगर कसैको रिमोर्ट कन्ट्रोलमा चलेको प्रष्ट देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button