हरिहरपुरगढी र केयुबीच मल कारखाना स्थापना अध्ययनका लागि सम्झौता

सिन्धुली । जिल्लाको हरिहरपुर गढी गाउँपालिका र काठमाडौँ विश्वविद्यालय (केयु)बीच रसायनिक मल कारखाना स्थापना अध्ययनका लागि सम्झौता भएको छ ।
आइतबार एक कार्यक्रमकाबीच गाउँपालिका र केयुबीच प्रति वर्ष दुई लाख मेक्ट्रिक टन रसायनिक मल उत्पादन गर्ने गरी कारखाना स्थापना गर्न पूर्व सम्भाब्यता अध्ययनका लागि तीन बुँदे सम्झौता भएको हो ।
सम्झौता पत्रमा केयुको तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा मनिष पोखरेल र गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष बज्रध्वज वाईबाले हस्ताक्षर गरेका छन् । साक्षीमा केयुको ग्रीन हाइड्रोजन ल्याबका टिम लिडर डा. विराज सिं थापा र गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराले हस्ताक्षर गरेका छन् ।
रसायनिक मल कारखाना स्थापनाका लागि पालिकाले जग्गा, बिजुली र पानी उपलब्ध गराउने पहल गर्नेछ भने केयुले अति आवश्यक पार्ने कच्चा पदार्थहरु (हाईड्रोजन, नाइट्रोजन र कार्बन डाई अक्साइड) को उपलब्धताका विषयमा अध्ययन गर्ने जनाएको छ ।
त्यस्तै गाउँपालिकामा प्राविधिक र आर्थिक रुपमा रसायनिक मल कारखाना स्थापनाको उपयुक्तताका बारे विस्तृत अध्ययन केयुले गर्नेछ भने ३ महिनाभित्र केयुले रसायनिक मल कारखाना स्थापना सम्बन्धि पूर्व सम्भाब्यता अध्ययन प्रतिवेदन तयार गर्नेछ ।
अध्ययन प्रतिवेदन केयु र गाउँपालिकाले संयुक्त रुपमा लगानी बोर्डमा प्रस्तुत गर्ने केयुको एकेडेमिया इन्डस्ट्री कोअपरेसनका संयोजक डा. राम लामाले बताए । लगानी बोर्डले स्वीकृत गरेपछि कारखानाको सम्भाब्यता अध्ययनका लागि बाटो खोल्ने छ । हरिहरपुर गढी गाउँपालिकामा स्थापना हुने मल कारखानामा थाइल्याण्डको क निजी कम्पनीले लगानी गर्ने बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button