युवा दिवसमा वक्तृत्वकला

रामेछाप । २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अनेरास्ववियु मन्थली नगरपालिका कमिटीले खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । अनेरास्ववियु मन्थली नगरपालिकाका पालिका अध्यक्ष उत्सव केसीको अध्यक्षता तथा केन्द्रीय सचिव सञ्जीव धितालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा मन्थली नगरपालिकाका १६ विद्यालयका ३४ जना विद्यार्थीले भाग लिएका थिए ।
वक्तृत्वकला प्रतियोगितामा कर्कलादेवी बोर्डिङ स्कुल मन्थलीका विद्यार्थी राशिक श्रेष्ठ प्रथम, श्री माध्यमिक विद्यालय हर्रेचिण्डेकी छात्रा अस्मिता चौहान द्वितीय, मन्थली मावि मन्थलीकी मनसुन लामा तृतीय र मन्थली माविकै मञ्जिता कार्की र सिक्राल मावि गेलुका कृष्ण अधिकारी चौथो भए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्राप्त गरे । सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेकपा एमाले मन्थली नगरपालिका कमिटी अध्यक्ष रामबाबु घिमिरे, स्थायी कमिटी सदस्य सागरहरि अधिकारी, वाग्मती प्रदेश अध्यक्ष लालबहादुर बुढाथोकी, रामेछाप जिल्ला अध्यक्ष पुष्कर भट्टराई लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।