मालपोतमा हाकिम नहुँदा सेवाग्राही मर्कामा

रामेछाप । जिल्लाको मालपोत कार्यालयमा हाकिम नहुँदा दैनिक काममा समस्या भएको छ । कार्यालय प्रमुख नहुँदा काम प्रभावित हुनुका साथै सेवाग्राहीले सास्ती भोग्नु परेको छ। मालपोतमा हाकिम नहुँदा राजीनामा, दृष्टि बन्धक, बकस पत्र, लगायतका सामान्य कामहरू मात्र भइरहेका छन् ।
कार्यालयमा प्रमुख नहुँदा निर्णय गर्नुपर्ने कामहरू, नामसारी, घर कायम, संशोधन लगायतका महत्त्वपूर्ण काम एक हप्ता भन्दा बढी समयदेखि रोकिएका छन् । जग्गा नामसारी, संशोधन लगायतका काम गर्न टाढाबाट आएका सेवाग्राहीहरू काम नै नगरी फर्कन बाध्य भएका छन् ।
यसअघिका कार्यालय प्रमुख रमाना लिएर जानुभयो । त्यसपछि कार्यालयमा भएका मौजुदा ज्येष्ठ सिनियर कर्मचारीलाई कार्यालय प्रमुख तोक्न भनी हामीले भूमि व्यवस्थापन विभागलाई पत्र पठाएका छौँ । तर विभागले अहिलेसम्म यहाँ भएका कर्मचारीलाई पनि प्रमुख तोकेको छैन । नयाँ कार्यालय प्रमुख पनि पठाइसकेको अवस्था छैन । जसले गर्दा साउन २४ गतेदेखि कार्यालयको महत्त्वपूर्ण कामहरू रोकिएका छन्।–निमित्त कार्यालय प्रमुख दामोदर सुवेदीले भने।
बाधा अड्काउ फुकाउन भूमि व्यवस्थापन विभाग र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ताकेता गरिएको भए पनि विभागबाट टिप्पणी उठेर मन्त्रालयसम्म गएको भन्ने छ, अब त्यहाँबाट कार्यालय प्रमुख नआएसम्म निर्णय गर्न सक्ने अवस्था छैन – उनले भने ।
मन्त्रालयका प्रशासन शाखा प्रमुख उपसचिव कृष्णप्रसाद भण्डारीले केही प्राविधिक समस्या देखा परेकाले कार्यालय प्रमुख पठाउन नसकिएको बताए । उनले भने– त्यहाँ सेकेन्ड क्लासको दरबन्दी हो । अधिकृतलाई कार्यालय प्रमुख तोक्न भनी पठाएको भए तीन÷चार दिन अगाडी नै कार्यालय प्रमुख गइसक्ने थियो । सुब्बालाई कार्यालय प्रमुख दिने भनिएकाले समस्या भएको हो । हामी सकेसम्म छिटो प्रमुख पठाउने गरी लागि परेका छौँ ।