लेखर्कको पहिरोले ३४ परिवारका १८० विस्थापित: खान र बस्न राम्रो प्रबन्ध नभएको गुनासो,

पालिका अध्यक्ष भन्छन् – यी समस्याहरूको समाधान गाउँपालिकाले तत्कालै गर्छ
रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको भीषण पहिरोका कारण विस्थापित भएका पीडितहरूले खान र बस्नको लागि राम्रो प्रबन्ध नभएको गुनासो गरेका छन् । चिसो भुईँमा सुत्नु पर्दा वृद्धबृद्धा र बालबालिकालाई समस्यामा भएको पनि उनीहरूले बताएका छन् ।
पहिरोले जोखिममा परेका लेखर्कका ३४ परिवारका १८० जनालाई गाउँपालिकाको टोकरपुरस्थित थामचौरमा रहेको कण्ठेश्वर माध्यमिक विद्यालयमा राखेको छ । पीडितहरूलाई विद्यालयको कक्षा कोठोमा कार्पेट ओछ्याएर सुत्ने बासको व्यवस्था गरिएको छ । चिसो भुईँमा सुत्नु पर्दा वृद्धवृद्धा र बालबालिकाहरूका समस्या भएको रामकुमार पहरीको गुनासो छ ।
महिला पुरुष सबैलाई एउटै कोठामा राखिदा महिलाहरूलाई कपडा फेर्न र सुत्नको लागि समेत असहज भएको गुनासो मेनुका पहरीले पोखिन्। ठुला मान्छेहरूका लागि खानपानको व्यवस्था ठिकै भएपनि बालबालिका र वृद्धवृद्धाहरुको लागि खानपानमा समस्या समस्या भएको उनी बताउँछिन् । बत्ती, खानेपानी र शौचालयमा समेत पानीको व्यवस्था नहुँदा निकै अप्ठ्यारो परेको रामकुमार पहरी बताउँछन् ।
पहिरोबाट विस्थापित भएका धेरै मानिसहरूलाई अपर्झट व्यवस्थापन गर्नु पर्दा ओढ्ने ओछ्याउने कपडाको अभावले पीडितहरूलाई समस्या परेको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान बताउँछन् । उनले भने– यी समस्याहरू गाउँपालिकाले तत्कालै समाधान गर्छ । पीडितहरुको लागि स्थायी बसोबासको व्यवस्था नभएसम्म गाउँपालिकाले खाने, बस्ने र बालबालिहरुको पढाइको समेत व्यवस्था पालिकाले गर्छ ।
पहिरोका जोखिममा परेको बस्ती नै स्थानान्तरण गर्नुपर्ने भएकाले स्थायी बस्ती विकासको लागि उचित ठाउँको खोजी गरी बस्ती विकास गर्ने र तत्कालको लागि आवश्यक राहत र पुनर्स्थापना लागि तत्कालै पहल गरिने बागमती प्रदेशसभा सदस्य युवराज चौलागाइले बताए।
दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ भने २ जना अझै बेपत्ता छन् । बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।