माननीय डा. कृष्णहरि बुढाथोकीज्यूलाई होतराज ढकालको खुल्ला पत्र

सादर नमस्कार,

तपाईं हाल रामेछाप जिल्लाबाट प्रतिनिधि सभामा सम्पूर्ण जिल्लावासीको प्रतिनिधित्व गरिरहनुभएको छ र व्यवस्थापिका संसद्को महत्त्वपूर्ण अर्थ समितिको सभापतिजस्तै गरिमामय पदमा हुनुहुन्छ। समय-समयमा जिल्लाका विभिन्न स्थानमा तपाईंको उपस्थिति देखिने गरेको, विकास निर्माणका आयोजनाहरूको अवलोकन, जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखहरूसँगको संवाद, तथा केही पालिका प्रमुख एवं वडाध्यक्षहरूसँग समस्या र समाधानका विषयमा छलफल भइरहेको खबर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा देख्न-सुन्न पाइन्छ।

एक जिम्मेवार नागरिक तथा जनप्रतिनिधिप्रतिको अपेक्षाका हिसाबले तपाईंले कानुन निर्माण गर्ने सर्वोच्च थलोमा पुगेर जनतामुखी कानुन बनाउनु र नबनेका कानुनहरू निर्माणमा नेतृत्वदायी भूमिका खेल्नु तपाईंको मूल दायित्व हो भन्ने मेरो बुझाइ छ।

यदि म गलत छैन भने, हाल तपाईं जसरी जिल्ला भ्रमण र अनुगमनमा सीमित हुनुभएको छ, त्यो शैली अलि परिमार्जन हुनुपर्ने देखिन्छ। विकास निर्माणको काम भइरहेका सहज ठाउँको मात्र अवलोकन गर्नुभन्दा, विगत लामो समयदेखि निर्माण व्यवसायीहरूको लापरवाहीका कारण आयोजनाहरू अलपत्र परेका क्षेत्रका जनप्रतिनिधि र आम नागरिकको माझमा पुगेर समस्या बुझ्न म विशेष अनुरोध गर्दछु।

विशेषगरी रामेछापको उमाकुण्डदेखि रामेछाप नगरपालिकाको कोलनजोर घाट (लिखु पानीढलो), गोकुलगंगादेखि खिम्ती पानीढलो, तथा दोरम्बा-शैलुङदेखि सुनकोशी-तामाकोशी पानीढलो क्षेत्रका मुख्य योजनाहरू ठेक्का सम्झौता भएर पनि अलपत्र परेका छन्। त्यसको प्रत्यक्ष मार त्यहाँका आम जनताले भोग्नुपरेको छ।

त्यस्तै, रामेछाप जिल्लाको मेरुदण्डका रूपमा रहेको मन्थली नगरपालिका र रामेछाप नगरपालिका दुवैको भूगोल समेट्ने ऐतिहासिक पुरानाे हुलाकी मार्ग—सेलेघाट–रामेछाप बजार–सालु बजार–देउराली हुँदै साँघुटारसम्मको ५१ कि.मि. सडक निर्माण कम्पनीको चरम लापरवाहीका कारण विगत ८ वर्षदेखि अलपत्र अवस्थामा छ। यो सडक छिमेकी जिल्ला ओखलढुंगाको सदरमुकामसम्म जोडिने सामरिक र आर्थिक महत्त्वको मार्ग हो।

यस विषयमा म माननीयज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु:

  • यो सडक आयोजनाका विषयमा सम्बद्ध निकाय र ठेकेदारसँग तपाईंले कति पटक ठोस संवाद गर्नुभयो?
  • निर्माण व्यवसायीले समयमा काम किन गरेन र गर्न सकेन भन्नेबारे विस्तृत अनुसन्धान र ताकेता भयो कि भएन?

माननीयज्यू, तपाईं सरकार र व्यवस्थापिकाको महत्त्वपूर्ण प्रतिनिधि हुनुहुन्छ। सस्तो लोकप्रियताका लागि केवल ताली पाइने ठाउँमा मात्र होइन, आलोचना सुनिने र असन्तुष्टि रहेका ठाउँहरूमा पनि जाने आँट गर्नुहोस्। केही limited घेरा र आसेपासेलाई मात्र साथमा लिएर होइन, सम्पूर्ण सरोकारवाला आम नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्ने साहस देखाउनुहोस्। आज तपाईंको वरिपरि घुम्ने मानिसहरूको हिजोको पृष्ठभूमि के थियो भन्ने कुरा रामेछापका आम नागरिकलाई भलीभाँती थाहा छ।

“बलेको आगो त सबैले ताप्छन्, तर असली सामर्थ्य त झरीको बेला दाउरा जोहो गरेर आगो बाल्नेमा हुन्छ।”

हेक्का रहोस्—आज तपाईं जुन स्थानमा हुनुहुन्छ, हिजो त्यहाँ अर्कै कोही थियो र भोलि अरू नै कोही हुनेछ। त्यसैले विचार पुर्‍याउनुहोस्, तपाईं कुनै भूगोल वा समूहविशेषको मात्र नभई समग्र रामेछाप जिल्लाको माननीय हुनुहुन्छ।

मैले एक आम नागरिक तथा जिम्मेवार पार्टीको जिम्मेवार सदस्यको हैसियतले जिल्लाको वृहत्तर हितलाई ध्यानमा राखी यो खुला पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छु।

होतराज ढकाल

रामेछाप नगरपालिका–३, साँघुटार, रामेछाप

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button