रामेछापमा पशुपतिनाथ मन्दिर पुनर्निर्माण, मेयर र पृतनापतिद्वारा संयुक्त उद्घाटन

रामेछाप — रामेछाप नगरपालिका वडा नं. ८ स्थित रामेछाप बजार नजिकै जीर्णोद्धार गरिएको नवनिर्मित पशुपतिनाथ मन्दिरको उद्घाटन गरिएको छ । नवनिर्मित मन्दिरको रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने र नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापति उपरथी भुवन खत्रीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।
विभिन्न सरकारी निकायको बजेट र स्थानीय दाताहरूको चन्दा संकलनबाट करिब १ करोड रुपैयाँको लागतमा मन्दिरको भव्य पुनर्निर्माण गरिएको हो । मन्दिर निर्माणका लागि बाग्मती प्रदेश सरकारले ३० लाख, रामेछाप नगरपालिकाले २२ लाख र वडा नं. ८ को कार्यालयले २५ लाख रुपैयाँ सहयोग गरेका थिए । बाँकी रकम विभिन्न मनकारी दाताहरूबाट ३० लाख ४६ हजार ६ सय पच्चिस रुपैयाँ संकलन गरिएको निर्माण समितिले जनाएको छ ।
नवनिर्मित धार्मिक परिसरमा आकर्षक शिव मन्दिर, गणेश मन्दिर र भीमसेनको प्रतिमासहितका भौतिक संरचनाहरू निर्माण गरिएका छन् । कलात्मक शैलीमा निर्माण गरिएको यो मन्दिर क्षेत्र निकै भव्य देखिन्छ ।
मन्दिर निर्माण कार्यलाई सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्‍याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई उद्घाटन समारोहमा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । मन्दिर निर्माण समितिका अध्यक्ष केदार कार्कीका अनुसार स्थानीयको सक्रियता र सरकारी निकायको समन्वयका कारण तोकिएकै समयमा आकर्षक मन्दिर निर्माण सम्पन्न गर्न सम्भव भएको हो । मन्दिरको पुनर्निर्माणसँगै यस क्षेत्रको धार्मिक पर्यटनमा समेत थप टेवा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button