रामेछापका गेल्जे लामा (शेर्पा) नेपाली काँग्रेसको समानुपातिक सूचीमा

रामेछाप — रामेछापका गेल्जे लामा (शेर्पा) आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेसको समानुपातिक तर्फको बन्द सूचीमा समावेश हुनुभएको छ। नेपाली काँग्रेस केन्द्रीय समितिले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा रामेछापबाट शेर्पा जनजाति क्लष्टरअन्तर्गत लामा शेर्पाको नाम समावेश गरिएको हो।
रामेछाप जिल्लाबाट काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहनु भएका लामा शेर्पा हाल नेपाल आदिवासी जनजाति महासंघको १०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय अध्यक्षको जिम्मेवारीमा कार्यरत हुनुहुन्छ। उहाँले २०४० सालमा त्रिचन्द्र क्याम्पसबाट नेविसंघको सदस्यता लिएर विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो।
विद्यार्थी संगठन हुँदै पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै आउनु भएका शेर्पा पेशाले कुशल निर्माण व्यवसायीका रूपमा पनि परिचित हुनुहुन्छ। उहाँको नेपाली काँग्रेसको क्रियाशील सदस्यता नम्बर ३२४०११०१०२००१३२/१४ रहेको जानकारी दिनुभएको छ।
उमाकुण्ड गाउँपालिका–२ देउराली निवासी शेर्पा पार्टी संगठनसँगै निर्माण व्यवसायमा समेत संलग्न रहनुभएको छ। यसअघि रामेछाप काँग्रेसको करिब दुई हप्ता अघि मन्थलीमा बसेको बैठकले शेर्पासहित अन्य नेताहरूको नाम समानुपातिक तर्फ सिफारिस गरेको थियो। तर केन्द्रीय तहबाट अन्तिम रूपमा सिफारिस हुने क्रममा रामेछाप जिल्लाबाट लामा शेर्पाको नाम मात्र समावेश भएको बताइएको छ।
समानुपातिक सूचीमा जिल्लाबाट एक मात्र प्रतिनिधित्व पाउनुले पार्टीभित्र आदिवासी जनजातिको भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।



