सिरुवारी भिरमा निर्वाचन सामग्री बोकेको ट्रक खस्यो : दुईको मृत्यु, ७ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

रामेछाप — जिल्लामा निर्वाचन सामग्री र कर्मचारी बोकेको ट्रक सोमबार दिउँसो सिरुवारी भिरबाट खस्दा दुई जनाको मृत्यु भएको छ। ना ४ ख ६७६८ नम्बरको ट्रक दुर्घटनामा परेका नेपाल प्रहरीका असई पर्शुराम यादवको घटनास्थलमै ज्यान गएको हो भने मतदान अधिकृत डोरप्रसाद घिमिरेको उपचारका क्रममा मन्थली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्लाको दुर्गम मतदान केन्द्रतर्फ निर्वाचन सामग्री र कर्मचारी बोकेर जाँदै गरेको ट्रक सिरुवारी भिरमा अनियन्त्रित भई करिब ४००ं मिटर तल खसेको थियो। दुर्घटनापछि स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका चार पुरुष र तीन महिलालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएका छ। उनीहरूको अवस्था गम्भीर रहेको छ। १ जना घाइतेहरूको मन्थलीमै उपचार भइरहेको छ।
दुर्घटनामा परेर घाइते हुनेमा चालक सम्मर बहादुर मानन्धर (खाडादेवी गाउँपालिका–४), सविना खड्का (जिरी नगरपालिका–७), दुर्गा कुमारी कार्की (खाडादेवी गाउँपालिका–५), भीम बहादुर मानन्धर (खाडादेवी गाउँपालिका–४), कृष्णप्रसाद घिमिरे (खाडादेवी गाउँपालिका–४), केदारकुमार रोक्का (मन्थली नगरपालिका–३) र ठेगाना नखुलेकी पूजा देवी सुनुवार रहेका छन्। कमला ढुंगेल खत्री भने खस्न लागेको ट्रक बाट हामफालेर सकुुसल बाच्न सफल भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार ओरालो सडक, साँघुरो घुम्ती र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि घटनाको विस्तृत छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
निर्वाचनको पूर्वसन्ध्यामा भएको यो दुर्घटनाले जिल्लामा शोकको वातावरण सिर्जना गरेको छ। निर्वाचन सामग्री सुरक्षित रहेको र वैकल्पिक व्यवस्थामार्फत सम्बन्धित मतदान केन्द्रमा पु¥याइने प्रशासनले जनाएको छ।



