संविधान दिवसमा दोरम्बामा विविध कार्यक्रम : सरसफाइ र भलिबल प्रतियोगिता
रामेछाप — दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्पका साथ संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा स्थानीय स्तरमा सरसफाइ, मैत्रीपूर्ण भलिबल प्रतियोगिता तथा दीप प्रज्वलनसहितका विविध कार्यक्रम आयोजना गरिएको छ ।
संविधान दिवस मनाउने क्रममा पहिलो चरणअन्तर्गत बिहान ८ बजेदेखि १० बजेसम्म आयोजना गरिएको वातावरण सरसफाइ कार्यक्रममा करिब ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, शिक्षक, बैंकका कर्मचारी, गाउँपालिकाका कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
दिवसकै दोस्रो चरणअन्तर्गत आयोजना गरिएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा विभिन्न क्षेत्र र निकायका गरी कुल ५ टोलीको प्रतिस्पर्धात्मक सहभागिता रहेको थियो । प्रतियोगितामा गाउँपालिका कर्मचारी, प्रहरी तथा स्वास्थ्यकर्मीको संयुक्त टोली, बैंक तथा स्थानीयवासीको टोली, कण्ठेश्वर माध्यमिक विद्यालयका शिक्षक टोली, सोही विद्यालयका विद्यार्थी टोली र बाटो घर–टोल टोलीबीच प्रतिस्पर्धा भएको थियो ।
रोमाञ्चक प्रतिस्पर्धाका बिच कण्ठेश्वर माध्यमिक विद्यालयका शिक्षकको टोली विजयी बनेको छ । आयोजकले विजयी टोलीलाई बधाई ज्ञापन गर्दै प्रतियोगितामा सहभागी सबै टोलीप्रति आभार व्यक्त गरेको छ ।
संविधान दिवसको उत्सवलाई निरन्तरता दिँदै तेस्रो चरणअन्तर्गत साँझ दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको छ । दीप प्रज्वलन कार्यक्रममा उपस्थित भई दिवसलाई थप भव्य र गरिमामय बनाउन सम्पूर्ण सरोकारवाला, जनप्रतिनिधि तथा सर्वसाधारणमा हार्दिक अनुरोध गरिएको छ ।



